पत्रकारलाई आजदेखि निजामती कर्मचारी अस्पतालबाट खोप दिइने 

आइतबार, माघ २५, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारदेखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सोमबारदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिए । उनले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको जनाए । 
स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिको पत्रकारको विवरण मागेको र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ र खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी  सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ । देशभर करिब १३ हजार पत्रकार रहेका छन् । पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ । यसअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारलाई कोभिड खोप निःशुल्क प्रदान गर्न गृहकार्य भइरहेको जानकारी दिएका थिए ।  नेपाल पत्रकार महासंघका सदस्यलाई कोभिड खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल भइरहेको बताएका थिए । मन्त्री गुरुङले कोभिड प्रभावित श्रमजीवी पत्रकारलाई राहत प्याकेज ल्याइने घोषणासमेत गर्नुभयो ।     श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सोका लागि सञ्चारगृह सञ्चालकसँग छलफल गरिने जानकारी दिनुभयो । 
श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ को दफा ११ बमोजिम सरकारबाट गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसबमोजिम २०७५ कात्तिकदेखि लागू हुने गरी राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारका लागि न्यूनतम २४ हजार ३७५ र अन्य सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारका लागि रु  १७ हजार ६२५ तोकिएको छ ।  
पत्रकारको जीवन बीमा, स्वास्थ्य बीमा र दुर्घटना बीमाका विषयमा प्राप्त सुझावका आधारमा सरकारले दीर्घकालीन योजना बनाउने जानकारी पनि उनले दिए ।
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  २१:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार