डिजिटल भ्याक्सिन प्रमाणपत्र जारी गर्दै अस्ट्रेलिया

आइतबार, माघ २५, २०७७

क्यानबेरा ।  अस्ट्रेलिया सरकारले कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ । यो योजना बमोजिम कोभिड खोप लगाएका अस्ट्रेलियाली नागरिकले आफूले खोप लगाएको प्रमाण स्मार्ट फोनबाटै प्रस्तुत गर्न सक्नेछन् । सरकारले अस्पताल र वृद्धवृद्धाको स्याहार केन्द्रसमेत उच्च जोखिममा रहेका व्यक्तिका लागि पहिलो चरणमा खोप दिने तयारी गरेको छ । अनिवार्य खोप लगाउने तयारीमा रहेको सरकारका लागि यस योजनाले थप सहयोग पुग्ने विश्वास लिइएको छ । अन्तर्राष्ट्रिय यात्रा पुनः शुरु गर्ने तयारीमा रहेका धेरै देशलाई यो प्रमाणपत्रलाई मान्यता दिनेतर्फ सरकारले तयारी पनि थालेको छ ।  सरकारी सेवा सम्बन्धी मन्त्री स्टुआर्ट रोबर्टले प्रमाणपत्र प्रणाली निर्माण गर्न अस्ट्रेलिया सरकारले विशेष सुरक्षा प्रणाली प्रयोग गरेको जानकारी दिए । उनले अस्ट्रेलियामा भइरहेका अन्य खोप अभियान समेत कोभिड–१९ को खोपलाई पनि राष्ट्रिय स्वास्थ्य प्रणालीमा आबद्ध गरिएको बताए ।  अस्ट्रेलिया सरकारले आगामी फेब्रुअरीको अन्त्यदेखि खोप दिन थाल्ने र अक्टोबरसम्ममा सम्पूर्ण जनसंख्यालाई खोप लगाइसक्ने योजना बनाएको छ । सीमामा आउजाउमा अति कडाई र कडा लकडाउन गरेको अस्ट्रेलियामा हालसम्म करिब २९ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९०९ जनाको मृत्यु भएको थियो ।– सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १४:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार