महिला टी-२० विश्वकप एसिया छनोट : कुवेतकाे सामना गर्दै नेपाल

बिहीबार, मंसिर ९, २०७८

काठमाडौ, ९ मंसिर : पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहीबार आज कुवेतको सामना गर्दैछ । 

दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ । प्रतियोगितामा कुवेतविरुद्ध खेल्दै गर्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ । 

मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले हार्‍यो । 

कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । कुवेत दुवै खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ । पहिलो खेलमा भुटानसँग ४० रनले पराजित कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भएको थियो । 

तेस्रो खेलमा जित निकाल्दै नेपाल ग्लोबल छनोटको सम्भावना कायमै राख्न चाहन्छ । त्यसका लागि रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली तयार छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोली ग्लोबल छनोटमा स्थान बनाउनेछ । 

यसअघि नेपालले अन्तिम पटक सन् २०१९ मा भएको खेलमा कुवतेलाई ३० रनले पराजित गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  ०८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार