‘ए’ डिभिजन लिग पहिलो चरणः आर्मीलाई धक्का, थ्रीस्टारको रवाफ

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं, ७ मंसिर । कोरोना महामारी र त्यसपछि उब्जिएका विभिन्न प्रश्नका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरणको खेल सकिएको छ । सोमबार साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीचको खेल सकिएसँगै पहिलो चरणको खेल समाप्त भएको हो । शुक्रबार (३ मंसिर) बाट सुरु भएको लिगको पहिलो चरणमा ७ खेल भए । पहिलो चरणको खेल सकिँदा साविक विजेता मछिन्द्र फुटबल क्लब, कीर्तिमानी आठौं पटकको लिग विजेता मनाङ मर्स्याङ्दी क्लब, तीन पटकको लिगविजेता थ्रीस्टार क्लब र ब्रिगेड ब्वाइज क्लबले शतप्रतिशत जित निकाल्दै महत्वपूर्ण ३ अंक जोडे । साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र  सातदोबाटो युथ क्लबले बराबर खेल्दै हार टारे भने एक अंक हासिल गरे । विभागीय एपीएफ फुटबल क्लब, न्युरोड टिम एनआरटी, जावलाखेल युथ क्लब  र च्यासल युथ क्लब भने पराजित भए । लिगको उद्घाटन खेलमा फ्रेन्ड्स र सातदोबाटोले गोलरहित बराबरी खेले । दोस्रो खेलमा संकटा र हिमालयन शेर्पाले १-१ गोलको बराबरी खेल्दा तेस्रो खेलमा च्यासल युथ क्लबलाई थ्रीस्टार क्लबले ३-० ले पराजित गर्‍याे । लिगको तेस्रो दिन तथा चौथो खेल रोमाञ्चक बन्दा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्‍याे । पाँचौ खेलमा कीर्तिमानी आठौं पटकको विजेता मनाङले जावलाखेलसँग १-० कठिन जित पायो । पहिलो चरणको छैटौं  तथा विभागीय डर्बीको खेलमा साविक विजेता आर्मी नेपाल पुलिससँग १–१ गोलको बराबरीमा रोकियो । यस्तै अन्तिम खेलमा साविक विजता मछिन्द्रले प्रतिस्पर्धात्मक खेलमा न्युरोड टिम एनआरटीविरुद्ध २–१ को कठिन जित पायो । अघिल्लो बर्ष (२०७६साल) मा अन्तिम खेलमा लिग जित्न एक अंक आवश्यक्ता रहेको समय मछिन्द्रलाई १–० ले नतिजा सुम्पिएको आर्मीले यस सिजन भने सुरुवाती खेलमै धक्का ब्यहोर्याे । लिग जित्ने दाबी सहित प्रतियोगितामा होमिएको आर्मी सुरुआती खेलमै विभागीय प्रतिद्वन्दी नेपाल पुलिससँग १–१ गोलको बराबरीमा रोकियो । सुरुवातबाट आक्रमक खेल खेलेको आर्मी नेपाल पुलिसको डिफेन्स लाईन भने चिर्न सकेन । पहिलो हाफमा पुलिसका खेलाडीले आर्मीको आक्रमणलाई रोक्न सफल भए । दोस्रो हाफमा दबाबकै बीच पुलिसले ‘सेट पिस’ मा गोल गर्याे । राष्ट्रिय टोलीका सदस्य तेज तामाङले प्रहार गरेको फ्रिकिकमा रक्षक सन्तोष हेमरुङले खेलको ५१ मिनेटमा हेडिङ गोल गरे । जससँगै दबाबकाबीच पुलिसले १–० को अग्रता बनायो । आर्मीले गोल खाएपछि दुई खेलाडी परिवर्तन गर्याे । बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका बिवेक बस्नेतले खेलको ६१ मिनेटमा डिफेन्समा पुलिसका खेलाडीले गरेको गल्तीको फाइदा उठाउँदै उत्कृष्ट गोल गरे । उनले मैदान प्रवेश गरेको तिन मिनेटमा गोल गरेका थिए । यस नतिजासँगै आर्मीलाई उपाधि यात्रामा केहि कठिनाई पक्कै हुनेछ । लिग जित्ने दाबी गरेको आर्मी पहिलो खेलमै रोकिन पुग्यो । आर्मीले यस बराबरीलाई लिएर नराम्रो भने पक्कै महशुस गरेको छैन । समग्रमा विभागीय प्रतिद्वन्दी बलियो भएकाले आर्मीले आगामी खेलमा आफ्नो अग्रपंक्तिमा सुधार गर्दै तिन अंकका लागि खेल्ने बताएको छ । यद्यपि लिग जित्न १३ मध्ये कम्तिमा ९ खेल जित्नुपर्ने हुँदा यस्ता बराबरीले भने टोलीको उपाधि यात्रामा निकै कठिनाइ पक्कै हुनेछ । यता, पहिलो चरणमा थ्रीस्टारले प्रभावशाली प्रदर्शन गर्याे । ललितपुर डर्बीमा थ्रीस्टारले बलियो च्यासलविरुद्ध ३–० को सहज जित निकाल्यो । च्यासलविरुद्ध थ्रीस्टारले तिनै गोल ‘सेट पिस’ मा गर्न सफल भएको थियो । जुन तिनै गोल डिफेण्डरबाट सम्भव भएको थियो । थ्रीस्टारले आफ्नो बक्स, डिफेन्स लाइन, मिड लाइन र आक्रमणमा मजबुद प्रदर्शन गर्दै रवाफिलो जित पायो । थ्रीस्टारको यस प्रदर्शनले लिगमा अन्य टोलीका लागि टाउको दुखाइको बिषय बन्ने निश्चित छ । अन्य खेलमा भने त्यस्ता कुनै पनि आश्चर्यजनक नतिजा भने आएन । लिगमा ठुला टोलीले साना देखिएका टोलीलाई पराजित गरेका छन् । यता, लिगमा बलियो देखिएका मछिन्द्र र मनाङले भने आफ्नो मजुबद आक्रमणबाट भने त्यति सन्तुष्टि पाउन सकेन ।  सिंगल राउण्ड रोबिनको आधारमा जारी लिगमा जम्मा ९१ खेल आयोजना हुनेछन् । प्रत्येक टोलीले १३ खेल खेल्दा एक टोली विजेता हुनेछ । प्रतियोगिताको विजेताले ७५ लाख, उपविजेताले ५० र तेस्रो हुने टोलीले २५ लाख पुरस्कार पाउँदा  अन्य बरियताका क्लबले भने कुनै पुरस्कार पाउने छैनन् ।  लिगको प्रत्येक खेलको विजेताले ५० हजार पाउँदा अंक बाढ्ने टोलीले समान २५ हजार पाउनेछन् । खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछ । एन्फाले पहिलो पटक लिगलाई ‘फ्लड लाईट’ मा खेलाएको छ । एक खेल दिउसो हुँदा अर्काे खेल साझ हुँदै आएको छ । विगतका दिनमा लिगमा दर्शकको अनुपस्थित हुँदा यस पटक भने पहिलो चरणमै तुलानात्मक रुपमा दर्शकको बाक्लो उपस्थिती रहेको छ । साझका खेलमा झनै प्रतिस्पर्धा बढ्दा आगामी दिनमा झनै दर्शकको बाक्लो उपस्थिती हुने अनुमान गर्न सकिन्छ । यस पटक एन्फाले दर्शक तान्नकै लागि टिकट दर समेत सस्ताउँदै १ सय र ५ सय तोकेको छ । पहिलो चरणमा ७ खेल हुँदा १४ खेलाडीले १६ गोल गरेका छन् । १ खेलाडीले रातोकार्डको सामना गर्दा च्यासलका विदेशी खेलाडी विकास मेलाग्लियाले पेनाल्टी मिस गरे । लिगमा दुइ खेलाडीले दुई गोल गर्दा १२ खेलाडीले एक एक गोल गरेका छन् । 

पहिलो चरणमा भएका खेल र नजिता–
१, फ्रेण्ड्स क्लब ०–० सातदोबाटो युथ क्लब 
२, हिमालयन शेर्पा क्लब १–१ संकटा क्लब 
३, च्यासल युथ क्लब ०–३ थ्रीस्टार क्लब 
४, ब्रिगेड ब्वाइज क्लब ३–२ एपीएफ फुटबल क्लब 
५, जावलाखेल युथ क्लब ०–१ मनाङ मस्र्याङ्दी क्लब 
६, त्रिभुवन आर्मी फुटबल क्लब १–१ नेपाल पुलिस क्लब 
७, मछिन्द्र फुटबल क्लब २–१ न्युरोड टिम एनआरटी 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १४:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार