डब्लुएचओको विज्ञ टोली चीनको वुहानमा 

कोरोना भाइरसको उत्पत्तिका बारे अनुसन्धान गर्ने योजना
बिहीबार, माघ २२, २०७७

वुहान । कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओे) को टिम चीनको वुहान शहर पुगेको छ । उनीहरूलाई चीन प्रवेश गर्न चीन सरकारले यसअघि रोक लगाएको थियो ।  चीनको वुहान सहरलाई कोरोना भाइरस कोभिड–१९ को उद्गमस्थल मानिएको छ । सो स्थानको अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठनका विज्ञको समूह बुधबार त्यहाँ पुगेको हो । चीनको वुहानमा पुगेको सो समूहले बुधबार त्यहाँ रहेको कोरोना भाइरससम्बन्धी प्रयोगशालाको निरीक्षण पनि गरेको छ । 
लामो समयको छलफलपछि चीनले डब्ल्यूएचओलाई कोरोनाको उद्गमस्थल मानिएको वुहानमा अनुसन्धान तथा अध्ययनका लागि अनुमति दिएको थियो । वुहानमा अध्ययनका लागि डब्ल्यूएचओले १० सदस्यीय अन्तरराष्ट्रिय विज्ञलाई चीन पठाउने निर्णय सो सङ्गठनले हालैमात्र गरेको थियो । गएको महिना जनवरी २०२१ देखि अध्ययन शुरु हुने घोषणा गरिएको थियो । चीनले विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिलाई वुहान जाने अनुमति नदिएपछि हालैमात्र उनीहरू त्यहाँ पुगेका छन् । सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण यतिखेरसम्म विश्वभर नै फैलिएको छ । अझ पछिल्ला दिनमा त यसको नयाँ प्रजातिको पनि सङ्क्रमण शुरु भएको बताइएको छ । कोरोना भाइरसको महामारी अझै पनि घट्ने अवस्था देखिएको छैन । विश्वमा दश करोडभन्दा बढी नागरिक सङ्क्रमित भइसकेका छन् । त्यसैगरी यसबाट करिब २२ लाख मानिसको ज्यान गएको छ । विश्वमा खोपको विकास भएको छ र कैयौँ देशमा खोप दिने क्रम पनि शुरु भएको छ । तर पनि यति बेलासम्म पनि कोरोना भाइरसको समस्या घटेको देखिएको छैन ।  विश्व स्वास्थ्य सङ्गठनका विज्ञको समूह चीनको वुहानमा रहेको इन्स्टिच्युट अफ भाइरोलोजीमा पुगेर कोरोना भाइरसको उत्पत्ति र यसको विस्तार हुनुका कारणहरूको बारेमा खोजी रहेको बताइएको छ ।–एएफपी
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १०:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार