पाकिस्तानमा पनि खोप अभियान शुरु 

चिनियाँ सिनोफार्मको खोप लगाइने
बिहीबार, माघ २२, २०७७

इस्लामाबाद । पाकिस्तानमा कोभिड–१९ विरुद्ध बुधबारदेखि पहिलो चरणको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणमा स्वास्थ्यकर्मीलाई उक्त खोप दिइने पाकिस्तान सरकारको तयारी छ । यो खोप चीन सरकारले उपलब्ध गराएको हो । चीनले सिनोफार्म फर्मास्यूटिकल्सबाट उत्पादित पाँच लाख डोज खोप सहयोग गरेको थियो । यसै महिनाको अन्त्यसम्ममा अरु लाखौँ डोज खोप पाकिस्तान ल्याउने र आम जनतालाई खोप लगाउने पाकिस्तान सरकारको योजना छ । 
सिनोफार्म खोपलाई चिनियाँ स्वास्थ्य अधिकारीले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेका छन् ।  करिब २२ करोड जनसङ्ख्या रहेको पाकिस्तानमा पाँच लाख मानिसमा कोरोना सङ्क्रमण देखिएको र तीमध्ये ११ हजारको मृत्यु भएको छ । तर सीमित सङ्ख्यामा मात्र परीक्षण गरिएकाले सङ्क्रमित व्यक्ति र मृत्युको संङ्ख्या बढी हुन सक्ने अनुमान गरिएको छ । सिनोफार्मको खोपको प्रभावकारिताका विषयमा केही विज्ञले प्रश्न उठाए पनि पाकिस्तान सरकारले सिनोफार्मको खोपलाई अनुमति दिइसकेको छ ।
अस्ट्राजेनिकाले उत्पादन गरेको खोप पनि करिब एक करोड ७० लाख डोज कोभाक्समार्फत सन् २०२१ को पहिलो छ महिनाभित्र प्राप्त हुने पाकिस्तान सरकारले विश्वास लिएको छ ।  भारतले छिमेकी मुलुकलाई केही खोप अनुदानमा दिइरहे पनि त्यो सूचीमा पाकिस्तान रहेको छैन ।–एएफपी
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  ०९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार