नेपालले कतारलाई सहजै हरायो

मंगलबार, कात्तिक ३०, २०७८
काठमाडौं, ३० कात्तिक :  पहिलो मैत्रीपूर्ण टी–ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोलीले कतारलाई सहजै पराजित गरेको छ । मंगलबार दोहामा भएको तीन शृंखलाको पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको हो ।
जितका लागि १४७ रनको लक्ष्य पाएको कतार ११ ओभर ५ बलमा मात्र २७ रनमा अलआउट भएको थियो । नेपालको धारिलो बलिङ सामु कुनै पनि कतारी खेलाडी खुलेर खेल्न सकेनन् ।
कतारका ७ खेलाडी शून्यमै आउट भएका थिए भने कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 
नेपालकी कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन् । ११ बल फालेकी रुविनाले १ रन दिएर ३ विकेट लिएकी थिइन् । यस्तै कविता कुँवर र सिता राना मगरले समान २ विकेट लिए । यता, करुना भण्डारीले १ विकेट लिइन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो ।
नेपालको लागि इन्दु बर्माले अर्धसतकसहित सर्वाधिक ५५ रन बनाइन् । ४५ बल खेलेकी इन्दुले ५ चौका प्रहार गरेकी थिइन् । यस्तै सिता राना मगरले ३९ रनको योगदान गरेकी थिइन् । नेपालले कतार भ्रमणमा तीन टी–ट्वान्टी खेल खेल्नेछ । यसपछि नेपाली टोली ग्लोबल छनोट खेल्न संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ ।
 
क्रिकेट संघको साधारण सभा धनगढीमा हुने

नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा पुसको तेस्रो साता हुने भएको छ । मंगलबार क्यानका अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा अनलाइन माध्यमबाट बसेको बोर्डको बैठकले साधारण सभा १४, १५ पुसमा गर्ने निर्णय गरेको हो । यसपटक संघले आफ्नो साधारण सभा धनगढीमा गर्ने निर्णय गरेको छ । 

यस्तै संघले विभिन्न ५ शीर्षकका निर्णय गरेको छ । संघले जिल्ला अधिवेशन ७ माघमा गर्ने निर्णय गर्दा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक छनोट गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

यस्ता छन् क्रिकेट संघले गरेको निर्णय

१.  संघको वार्षिक साधारण सभा २०७८ साल पौष १४ र १५ गते धनगढीमा आयोजना गर्ने निर्णय गरिएको छ । 

२. संघको विधान अनुसार ४ वर्षीय कार्यकाल समाप्त भएका र कार्यकाल समाप्त हुने जिल्ला क्रिकेट संघको जिल्ला अधिवेशन यही २०७८ साल माघ ७ गते भित्र सम्पन्न गर्न सम्बन्धित जिल्ला क्रिकेट संघलाई निर्देशन दिने निर्णय गरिएको छ ।

३. संघको मुख्य प्रशिक्षक छनौटका लागि संघका कार्यवाहक सचिव  प्रशान्त विक्रम मल्लको संयोजकत्वमा संघका कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक  रौनक बहादुर मल्ल, क्रिकेट म्यानेजर विनोद कुमार दास र १ जना आइसिसीका प्रतिनिधि रहने गरी पाँच सदस्यीय छनौट समिति गठन गर्ने निर्णय गरिएको छ । 

४. संघको आर्थिक कार्यविधि पारित गरिएको छ ।

५. प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पौष १५ गते भित्र सम्पन्न गर्ने लगायतका निर्णय गरिएको छ ।

५, प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पौष १५ गते भित्र सम्पन्न गर्ने लगायतका निर्णयहरु गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १९:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार