नेपाली रेफ्री राज कुमार एफआईबीएको निर्णायक भूमिकामा

मंगलबार, कात्तिक ३०, २०७८
काठमाडौं, ३० कात्तिक : नेपाली बास्केट बल रेफ्री राजकुमार महर्जनले दक्षिण एसियन बास्केट बल च्याम्पियनसिप (साबा)मा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।
सोमबारबाट बंगलादेशको राजधानी ढाकामा सुरु भएको दक्षिण एसियन बास्केट बल च्याम्पियनसिपको छैटौं संस्करणमा रेफ्री महर्जनले सहभागिता जनाएका हुन् ।
नेपाल बास्केट बलले ‘नेपाल यस प्रतियोगितामा सहभागी नभए पनि एफआईबीए रेफ्री राजकुमार निर्णायक भूमिकामा रहेको‘ जनाएको छ । राज कुमारले बंगलादेश र श्रीलंकाबीचको खेल खेलाएका थिए ।
यसअघि यसै प्रतियोगितामा महिला तथा पुरुष टोलीका लागि पत्र आए पनि नेपाल बास्केट बल संघको लापरबाहीको कारण नेपालले महिला तथा पुरुष दुबै विधामा सहभागिता जनाउने अवसर गुमाएको थियो । जुन विषयलाई लिएर महिला टोलीकी कप्तान सदिना श्रेष्ठ र पुरुष टोलीका कप्तान सदिस प्रधानले असन्तुष्टि पोखेका थिए ।
नेपालले अघिल्लो साल नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) खेलेयता बास्केट बलमा कुनै पनि प्रतियोगितामा सहभागिता जनाएको छैन ।
१३औं सागमा नेपालले महिलातर्फ रजत पदक तथा पुरुषतर्फ कास्य पदक जितेको थियो । यस्तै थ्री बाई थ्री मा पुरुष टोलीले रजत तथा महिलाले कास्य जितेको थियो । यता, संघले पछिल्लो समय कुनै पनि बास्केटबलका प्रतियोगिता आयोजना गर्न सकेको छैन । 
 
 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार