स्वास्थ्य मापदण्ड बनाएर चिडियाखाना खोलिँदै

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौँ । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ । विश्वभर फैलिएको कोभिड–१९का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्णरुपमा चिडियाखाना बन्द गरिएको थियो । लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्न लागिएको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जिवीप्रसाद पोखरेलले जानकारी दिए ।
पोखरेलले भने,‘कोरोना भाइरस सङ्क्रमण कम भएको छैन, त्रास केही कम भएको हो, अबको केही दिनमा खोलिन्छ, त्यसका लागि मापदण्ड पनि तयारी अवस्थामा छ ।’ 
मास्क अनिवार्य लाउनुपर्ने, एक पटकमा ८०० मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ । यसअघि झै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वटा जीव जनावर रहेको छ । जहाँ मुख्य आकर्षणको रुपमा बाघ, भालु, चितुवा, रेड पाण्डा रहेका छन् ।   ती प्रजातिमध्ये ३३ स्थनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । अवलोकनका लागि विदेशीका लागि ७५० रुपैयाँ, सार्क राष्ट्रका पाहुनाका लागि ५०० रुपैयाँ नेपालीलाई १५० रुपैयाँ र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरेको छ । वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि १६ करोडसम्मको आर्थिक कारोवार हुने गरेको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार