पूर्वउपप्रधानमन्त्री केसीको उपचार खर्च सरकारले बेहोर्ने

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चा (राजमो) का अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । केहीदिनदेखि केसीको स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षणमा बुधबार रिपोर्ट पोजिटिभ आएको हो । केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले बताए । केसी एक महिनादेखि भैरहवामा रहँदा पनि रुघाखोकी र ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ देखिएको हो । केहीदिनअघि उनलाई निमोनिया देखिएको थियो । केसी मंगलबारमात्रै भैरहवाबाट काठमाडौं आएर मेडीसिटी भर्ना भएका हुन् ।जनमोर्चाले आर्थिक संकलन नगर्ने
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको उपचारका लागि आर्थिक संकलन नगरिने भएको छ । जनमोर्चाले बिहीबार विज्ञप्ति जारी गर्दै केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताइसकेका कारण उपचार खर्च जुटाउनका लागि आर्थिक संकलन नगर्ने जनाएको हो । ८० वर्षीय केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै यसअघि जनमोर्चाले उपचारका लागि सहयोगदातासँग सहयोग गर्न अपिल गरेको थियो । ‘उहाँको उपचारको लागि हामीले पहिले सहयोगको लागि सार्वजनिक अपिल गरेका थियौं । अहिले उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समाचार प्राप्त भएको छ । उहाँको स्वास्थ्यलाभको शुभकामना र सहयोग दिएका सबैप्रति आभार प्रकट गर्दै अहिले सरकारले उहाँको उपचारको खर्च व्यहोर्ने भनेको हुनाले थप सहयोग नगर्नुको लागि अनुरोध गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।
केसीको उपचारका लागि पार्टीले पैसा उठाउन थालेको भन्दै केसीका जेठा छोरा सचित्रले ‘बुबाको अवस्था सामान्य रहेको’ भन्दै ‘पैसा उठाउने बाहनामा नफस्न’ फेसबुकमा स्टाटस लेखेका थिए ।
छोराको स्टाटसले हल्लीखल्ली
पूर्वउपप्रधानमान्त्री केसीको उपचारका लागि राष्ट्रिय जनमोर्चाले उपचार खर्चका लागि सहयोगदाताहरुलाई आह्वान गरेपछि केसीका छोराले आपत्ति जनाएका छन् । नेता केसीका दुई भाइ छोरामध्ये सचित्र केसी र विष्णु केसी दुवै जापानमा छन् । जेठा छोरा सचित्रले ‘बुबाको अवस्था सामान्य रहेको’ भन्दै ‘पैसा उठाउने बाहनामा नफस्न’ फेसबुकमा स्टाटस लेखेपछि राष्ट्रिय जनमोर्चाभित्र हल्लीखल्ली मच्चिएको थियो । केसीका जेठा छोरा सचित्रले फेसबुकमा बुबाआमाको समेत तस्वीर राखेर लेखेका थिए, ‘सबै साथीहरुलाई अभिवादन । बुबा खतरामुक्त हुनुहुन्छ । अनावश्यक हल्ला गरेर पैसा उठाउने बाहनामा कोही पनि नफस्नुहोला । आवश्यक परे पारिवारिक रुपमा हामीले सूचना गर्नेछौं ।’
केसीको उपचारका लागि पार्टीबाट उपचार खर्च जुटाउने अभियान सुरु गरेकोप्रति लक्षित गर्दै छोरा सचित्रले भनेका छन्, ‘चित्रबहादुर गम्भीर छन् भनेर प्रचार गरिएको छ, त्यो सर्वथा झूठ हो, यसको पछि नलाग्नुहोला । शुभ रात्री ।’

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार