इन्दिराको ह्याट्रिक मद्दतमा रोङ क्वार्टरफाइनल प्रवेश

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं, २२ कात्तिक :  राष्ट्रिय टोलीकी सदस्य इन्दिरा राईको ह्याट्रिक मद्दतमा इलामको रोङ गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा अन्तिम आठमा प्रवेश गरेको  छ । 

सोमबार एन्फा मैदानमा भएको दोस्रो खेलमा रोङ गाउँपालिकाले दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो ।  

रोङको जीतमा राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी इन्दिरा राईले ह्याट्रिक पूरा गरिन् । कप्तान अनिता राईले १ गोल गरिन् । 

विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबाट रोङ पुगेकी इन्दिराले खेलको २९, ४५ पछि थपिएको एक मिनेट र ५८ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै, कप्तान अनिताले खेलको ४० मिनेटमा गोल गरिन् । 

यता, तुलसीपुरका लागि ममता पुन मगरले खेलको ६८ मिनेटम सान्त्वना गोल गरिन् । 

रोङमा राष्ट्रिय टोलीकी इन्दिरासहित दीपा राई र विमला बिक रहँदा एपीएफकी गोलरक्षक रूपा राना मगर रहेकी थिइन् । 

अब रोङले अन्तिम ४ प्रवेशका लागि समूह 'आई'को विजेता कैलाली गौरीगंगा नगरपालिकासँग खेल्नेछ । 

च्यासलमा अर्पण र मार्टन अनुबन्ध

ललितपुरको च्यासल युथ क्लबले आगामी शहिद स्मारक ए डिभिजन लिगका लागि गोलरक्षक अर्पण कार्की र विदेशी खेलाडी शेम मार्टनलाई भित्र्याएको छ । 

सोमबार क्लबले विज्ञप्ति जारी गर्दै गोलरक्षक अर्पण कार्की र भारतीय सेन्टर मिडफिल्डर शेम मार्टनलाई २९ कात्तिकबाट सुरु हुने लिगको लागि क्लबमा अनुबन्धन गरेको जनाएको हो । 

‘च्यासल युथ क्लब अर्पणलाई स्वागत गर्न पाउँदा निकै खुसी छ । अर्पण नेपालको उमेर समूहमा एक सफल कप्तान हुने समेत हुन्’, च्यासलले भनेको छ । 

अर्पणले उमेर समूहमा नेपालको यू-१५, १९ र २३ टोलीको कप्तानी गरिसकेका छन् । अर्पणको कप्तानीमा नेपालले यू-१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको थियो । नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्दा टोलीका सदस्य थिए । 

यसअघि अर्पणले घरेलु लिगमा नेपाल पुलिस क्लबबाट खेल्दै व्यावसायिक फुटबलको सुरुवात गरेका थिए । पछिल्लो समय भने अर्पणले माल्दिभ्सको जेजे स्पोर्टस् र भुटानको पारो एफसीबाट लिग खेलेका थिए । 

च्यासलमा अर्पणको आगमनसँगै अर्का गोलरक्षक विनय श्रेष्ठ दोस्रो रोजाइमा रहेर खेल्न सक्छन् । यद्यपि, दुबै खेलाडीबीच सुरुवाती एघारमा खेल्न निकै नै प्रतिस्पर्धा हुनेछ । 

सोमबार नै च्यासलले दक्षिण एसियाली कोटामा भारतीय शेम मार्टनलाई अनुबन्धन गरेको छ । २६ वर्षीय सेन्टर मिडफिल्डर मार्टनसँग भारतीय प्रथम डिभिजन चेन्नई सिटी फुटबल क्लबबाट खेलेको अनुभव छ । 

यसअघि च्यासलले विकास मेराग्लीयासँगै तीन विदेशी खेलाडी पूरा गरिसकेको छ । ए डिभिजन लिगमा चार विदेशी खेलाडी खेलाउँदा एक अनिवार्य दक्षिण एसियाली खेलाडी खेलाउनु पर्नेछ । 

यस सिजनको ए डिभिजन लिगमा च्यासलले ललितपुर डर्बीअन्तर्गत थ्रीस्टार क्लबविरुद्ध खेल्दै लिगको सुरुवात गर्नेछ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  २१:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार