त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री कपको उपाधि

आइतबार, माघ १८, २०७७

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको उपाधि जितेको छ । आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३४ रनले हराउँदै पहिलो पटक उपाधि चुमेको हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज एपीएफले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौं विकेट गुमाउँदै २११ रन बनायो । २१२ रनको विजय लक्ष्य पछ्याउने क्रममा एपीएफले ४१ दशमलव  तीन ओभरमा सबै विकेट गुमाउँदै १७८ रन मात्र बनायो । आर्मीले आजको खेलमा अनिल मण्डल र सुशन भारीलाई प्रारम्भिक ब्याट्सम्यानका रुपमा मैदानमा पठाएको थियो । पहिलो विकेटका लागि दुवै जनाले ३२ रनको साझेदारी गरेका थिए । भारीले १३ तथा मण्डलले ११ रन बनाए । आर्मीका लागि भीम सार्कीले सात, रोहित पौडेलले १३, कप्तान विनोद भण्डारीले सातm हरि चौहानले ५८, लोकेश बलमे १५ तथा साहब आलमले २५ रनको योगदान दिए ।

बलिङतर्फ अभिनाश बोहोराले चार तथा किशोर महतोले दुई विकेट लिए । जवाफी ब्याटिङ गर्ने क्रममा एपीएफका लागि आशिफ शेखले ६१, शंकर रानाले २१, सुवास खकुरेलले १४, सुमित महर्जनले १९ तथा सन्दीप जोराले २९ रन बनाए । बलिङतर्फ आर्मीका लागि विक्रम सोब, जितेन्द्र मुखिया र साहब आलमले तीन तीन विकेट लिए । एपीएफको कप्तानी शरद भेषवाकरले तथा आर्मीको नेतृत्व विनोद भण्डारीले गरेका थिए ।  एपीएफले नेपाल पुलिस क्लबलाई तथा आर्मीले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । समूह ‘ए’ मै रहेका दुवै टोली अन्ततः फाइनल प्रवेश गर्न सफल भएका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ तथा उप विजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  ०६:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार