६ गोल भएको खेलमा बार्सिलोना रोकियो, रियल विजयी

आइतबार, कात्तिक २१, २०७८

काठमाडौं, २१ कात्तिक : स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब  बार्सिलोना बराबरीमा रोकिँदा रियल मड्रिडले जित हात पारेकाे छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले पहिलो हाफमै ३ गोलको अग्रता लियाे ।  दोस्रो हाफमा  ३ गोल व्यहोर्दै बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो । 

सेल्टा भिगोको मैदानमा सुरुवाती ३ गोल  भए पनि बार्सिलोना अन्तिम समय ३-३ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । 

बार्सिलोनाका लागि अन्सु फाती, सर्जियो बुस्केट र मेम्फिस डिपाएले एक-एक गोल गरे । सेल्टा भिगोको लागि लागो आसपासले दुई तथा नोलिटोले एक गोल गरे । 

जोडी अल्वाको पासमा फातीले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।  कप्तान सर्जियो बुस्केटले १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । ३४औँ मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै पहिलो हाफमा  ३-० को अग्रता दिलाए ।

दोस्रो हाफमा घरेलु टोली सेल्टाले लगातार तीन गोल गर्‍याे । बराबरीपछि बार्सिलोना १७ अंकसहित नवौँ स्थानमा छ । सेल्टाभिगो १५औँ स्थानमा छ ।

शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको रियलले रायो भालेकानोलाई २-१ गोल अन्तरले पराजित गरेकाे छ । 

घरेलु मैदानमा रियललाई जिताउन टोनि क्रूस र करिम बेन्जेमाले एक-एक गोल गरे । भालेकानोको लागि राडामेल फाल्काओले सान्त्वना गोल गरे । 

जितसँगै रियल १२ खेलबाट २७ अंकसहित शीर्ष स्थानमा छ । १३ खेलबाट २० अंकसहित भालेकानो छैटौँ स्थानमा रह्यो । 

म्यानचेस्टर डर्वी : घरेलु मैदानमा युनाइटेड २-० ले पराजित

भ्रमणकारी टोली म्यानचेस्टर सिटीले इंग्लीस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ ।

 युनाईटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा सिटी२–० गोल अन्तरले विजयी भएको  हो ।

खेलमा युनाईटेडका इरिक बेलीको आत्मघाती गोल गर्दा अर्को गोल सिटीका बर्नाण्डो सिल्भाले गरे । 

खेलको ७ औ मिनेटमा बेलीले आत्मघाती गोल गरेका थिए । बर्नान्डो सिल्भाले खेलको ४५ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । 

जितसँगै ११ खेलमा २३ अंक बनाएको  सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ११ खेलमा १७ अंक बोकेको युनाइटेड पाँचौ स्थानमा छ । 

बर्नलीसँग चेल्सी रोकियो

इङ्लिस प्रिमियर लिगको ११ औँ चरणको खेलमा शीर्ष स्थानको चेल्सी रेलिगेशन जोनमा रहेको बर्नलीसँग बराबरीमा रोकिएको छ । 

शनिबार राति भएको खेलमा चेल्सी बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । 

स्ट्राम्फोर्डमा काइ हभार्ट्जले ३३औँ मिनेटमा चेल्सीलाई  अग्रता दिलाए  । बर्नलीका माटिज भ्यड्राले खेल सकिन ११ मिनेट बाँकी रहँदा गोल गर्दै टोलीको हार संकट टारे । 

बराबरीको नतिजापछि चेल्सी ११ खेलबाट २६ अंकसहित शीर्ष स्थानमा छ । बर्नली ११ खेलबाट ८ अंकसहित १८ स्थानमा छ । 

दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग २३ अंक छ ।  म्यानचेस्टर डर्बीमा सिटीले युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेकाे छ । 

नर्विच सिटीले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तर, क्रीस्टल प्यालेसले उल्भ्सलाई २-० गोल अन्तरले पराजित गर्दा न्युक्यासल युनाइटेड र ब्राइटनले १-१ को बराबरी खेले । 

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  ०९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार