इंग्ल्यान्डका क्रिकेटर क्रिस वोक्सको नयाँ जीवन

सोमबार, कात्तिक १५, २०७८

क्रिस वोक्स फेरि इंग्लिस टी २० टोलीमा फर्कनेमा धेरैको आशा थिएन । पाँच वर्षभन्दा बढी २० ओभरको यो खेलका लागि टोलीमा नबोलाइएका उनी इंग्लिस टोलीको टिम निर्माताको योजनामा फिट ठहरिएका थिएनन् । तीनै वोक्स जारी टी २० विश्वकपमा टोलीमा बोलाइएका मात्र छैनन्, इंग्ल्यान्डको अहिलेसम्मको अपराजित यात्राको एउटा प्रमुख पात्र बनेका छन् । उनकै बलिङ इंग्ल्यान्डलाई जितका लागि एउटा प्रमुख हतियार बनेको छ । त्यसो त, यो पाँच वर्षको अवधिमा पनि उनको स्तर त खस्किएको होइन । परन्तु, मध्यक्रमका भरपर्दा ब्याट्सम्यान, बलियो प्रारम्भिक जोडी र पुछारमा रहे पनि राम्रोसँग रन बटुल्न सक्ने हार्ड हिटर अलराउण्डर इंग्लिस टी २० क्रिकेट टोलीमा थिए । यस कारण उनको आवश्यकता नै महसुस गरिएन । धेरै वर्ष अगाडिको समयमा फर्कने हो भने २०११ मा अस्ट्रेलियासँग एडीलेडमा खेलिएको यसै फम्र्याटको खेलमा इंग्ल्यान्डले अन्तिम बलसम्म क्रिजमै रहेर एक विकेटको जित हात पार्न सफल भएको थियो । सोही समयदेखि वोक्स यो फम्र्याटका लागि उपयुक्त खेलाडी मानिएका थिए । अग्ला सिमर उनी पुछारमा हार्ड हिटरको रूपमा उपयोगी ब्याट्सम्यान पनि थिए । यसै कारण उनलाई आधुनिक टी २० खेलका भरपर्दा अलराउण्डरको रूपमा पनि हेरिन थालिएको थियो । पछिल्लो समय इंग्ल्यान्डको टिममा नरहे पनि उनलाई आइपिएलको अक्सनमा भने समावेश गरिएको थियो । २०१५ देखि अन्तर्राष्ट्रिय टी २० खेल्न नपाएको मेरो हकमा यस वर्ष विश्वकप टोलीमा पर्ने कुरा गर्नु नै धेरै महत्त्वाकांक्षी जस्तो हुन सक्थ्यो,” उनले भने, “गत गृष्ममा टोलीमा रहने सम्भावना रहे पनि म चोटग्रस्त भएँ । तर, विश्वकप टोलीमा पर्ने आशा भने कमै थियो । नयाँ बल  विशेषज्ञको रूपमा विश्वकपको उनको उपस्थिति त कमैले  अपेक्षा गरेका थिए । गएका तीन खेलमा उनले पावर प्लेमा ८ ओभर बलिङ गरे । यी आठ ओभरमा २८ रन मात्र खर्चेर चार विकेट लिए । अस्ट्रेलियाले पावर प्ले सकिए पछिको पहिलो बलमै अदिल रसिदको गुग्लीमा मार्कस स्टोनीसलाई गुमाएको थियो । एकातिर अस्ट्रेलियाले पावर प्लेमा संघर्ष गरी रहेको थियो भने इंग्ल्यान्डले पावर प्लेको हरेक ओभरमा कमसेकम एक पटक बललाई सीमा पार गराएका थियो । इङ्गल्यान्डले अस्ट्रेलियासँगको खेलमा सानदार जित हात पारे इङ्ग्लिस कप्तान इयान मोर्गानले वोक्सको उत्कृष्ट प्रदर्शन नै जित एउटा प्रमुख आधार भएको समेत बताए । मोर्गानले समेत वोक्सलाई अहिलेको संसारको उत्कृष्ट नयाँ बल बलरको रूपमा व्याख्या गरेका छन् । 
वेस्ट इन्डिजसँगको पहिलो खेलमा वोक्सले स्लो बलमा एभिन लेविसलाई आउट गरेका थिए ।  पछिल्ला केही वर्ष उत्कृष्ट खेलाडीको रूपमा रहे पनि अहिले भने वोक्स जीवनकै उच्च फर्ममा रहेको समेत मोर्गान बताउँछन् । यी यावत सकारात्मक पक्षमा बाबजुद केही चिन्ता पनि इङ्ग्लिस टोलीमा थपिएको छ । अस्ट्रेलियासँगको खेलको १७ औ ओभरमा आफ्नो चोथो ओभर बलिङ गरेका वोक्स सुरुवाती समयमा जस्तो प्रभावकारी देखिएका थिएनन् । सायद मोर्गानले आफ्नो न्यु बल विशेषज्ञलाई नयाँ किसिमले प्रयोग गर्ने बारे सोच्ने छन् । ३२ वर्षीय क्रिस्टोफर रोजर वोक्सले २०१३ को एसेस शृङ्खलाको पाँचौँ टेस्टमार्फत टेस्ट डेब्यु गरेका थिए । लर्ड्सको मैदानमा शतक प्रहार गर्ने र कुनै टेस्ट पारीमा पाँच विकेट लीने १० खेलाडी मध्य उनी पनि एक हुन् । यो क्रिकेटको दुनियाँको दुर्लभ सफलता हो । 

२००९ मा इंग्ल्यान्ड लायन्सको टोलीमा रहँदा उनले हेम्पसायरविरुद्ध अविजित १३१ रन प्रहार गरेका थिए । नवौँ क्रममा ब्याटिङ गरेका उनको यो पहिलो फस्ट क्लास शतक थियो । यसै सफलतासँगै उनी धेरैको आँखामा परेका थिए । सो पारीमा उनले जोनाथन ट्राउटसँग मिलेर २२२ रनको साझेदारी गरेका थिए । २०११ मा उनले २ सयौँ फस्ट क्लास विकेटको कोशेढुंगा पनि पार गरेका थिए । 

२०१७ को आइपिएलमा उनी कलकत्ता नाइट राइडर्समा आबद्ध भए । उनले सो सिजनको आइपिएलमा १३ खेलमा १७ विकेट लिएका थिए । २०१८ को आइपिएलमा उनी रोयल च्यालेन्जर बंगलोरमा आबद्ध भएका थिए । त्यस सिजनमा उनले ८ विकेट लिएका थिए । २०१९ को आइपिएलमा बंगलोरले उनलाई रिलिज गरेको थियो भने त्यो सिजन उनी बिकेनन् पनि । इङ्ग्लिस टोलीबाट हटाइएका उनी आइपिएलमा पनि यस पछि छायामा परेका थिए । 

२०२० को आइपिएलमा दिल्लीमा पुगे पनि निर्धारित समयमा आइपिएल कोभिड महामारीका कारण भएन । ढिलो मितिमा भएको २०२० को आइपिएल उनले इङ्गल्यान्डको टेस्ट टोलीमा रहेका कारण गुमाएका थिए । २०२१ मै उनले दिल्लीको तर्फबाट चेन्नाइ विरुद्धको आइपिएल खेलमा सहभागिता जनाएका थिए । 

उनले पहिलो अन्तर्राष्ट्रिय टी २० खेल २०११ मा एडीलेडमा अस्ट्रेलियासँग खेलेका थिए । सो खेलमा उनले ४ ओभरमा ३४ रन खर्चेर एक विकेट लिए । उनले विजयी रन पनि प्रहार गरेका थिए । यसै प्रदर्शनको कारण त्यसै टुरको एक दिवसीय खेलमा लागि पनि अवसर पाएका उनले दोस्रो एक दिवसीय खेलमा ४५ रन खर्चेर ६ विकेट लिएका थिए । यस पछि उनी लगातार एक दिवसीय टोलीमा पनि अटाए । 

२०१३ को एसेस शृंखलामा टोलीमा अटाएका उनी बलरको रूपमा धेरै विश्वास गरिएका २०१४ बाट हो । श्रीलंकाविरुद्धमा एकदिवसीय टुरमा टोलीका पुराना बलर जेम्स एन्डरसन र स्टुवार्ड ब्रोड घाइते भएका थिए । सोही भ्रमणमा उनलाई नयाँ बलको जिम्मेवारी थमाइएको थियो । यसैको पाँचौँ खेलमा ६ विकेट लिएर ४७ रन दिए पछि सो बलिङ क्रिकइन्फोको वर्षको उत्कृष्ट बलिङको मनोनयनमा परेको थियो । 

२०१५ को विश्वकप टोलीमा समावेश उनले चोटका कारण इङ्गल्यान्डको अन्तिम खेल गुमाएका थिए । २०१६ मा श्रीलंकासँगको एक दिवसीय खेलमा उनले अविजित ९५ रन प्रहार गरेका थिए । यो उनको सबै भन्दा धेरै एक दिवसीय रनको कीर्तिमानको रूपमा रहेको थियो । यो रन आठौँ या त्यो भन्दा तल्लो क्रमका ब्याट्सम्यानले प्रहार गरेको सबै भन्दा धेरै रनको रूपमा साम कुरानको कीर्तिमानसँग बराबरी थियो । २०१८ मा लर्ड्समा भारत विरुद्ध भएको खेलमा उनले पहिलो टेस्ट शतक प्रहार गरेका थिए । २०१९ को विश्वकपमा अस्ट्रेलियासँगको सेमिफाइनलमा म्यान अफ द म्याच घोषित उनले न्युजील्यान्डसँगको खेलमा पनि तीन विकेट लिएका थिए । 

उनको उत्कृष्ट प्रदर्शन रहेको विश्वकप इंग्ल्यान्डको पहिलो विश्वकप उपाधि पनि थियो । यी यावत सफलता पाएका उनका टी २० कै रूपमा भने यो दोस्रो जीवन हो । सायद इंग्ल्यान्डले जिते यो देशका लागि मात्र होइन वोक्सकै लागि पनि २०१९ को पुनरावृत्ति हुने छ । 

यो विश्वकप क्रिकेटका धेरै यात्रा बाँकी छन् । इंग्ल्यान्डले आफ्नो समूहमा खेलेका सुरुवाती तिन खेलमा जित हात पारि सकेको छ । औपचारिक रूपमा सेमिफाइनल प्रवेश गरी सकेको त छैन । तर, पनि इङ्गल्यान्ड सेमिफाइनल प्रवेश नगर्ने कुरा यो विश्वकपलाई नियाली रहेका कसैले कल्पना पनि गर्न सक्दैनन् । 

इङ्गल्यान्डले जुन स्तरको प्रदर्शन गरेको छ, अर्को समूहमा रहेको पाकिस्तानले पनि त्यस्तै उत्कृष्ट प्रदर्शन गरेको छ । पाकिस्तानका लागि पनि सुरुवाती बलर सहिन अफ्रिदी महत्त्वपूर्ण हतियार साबित भएका छन् । विश्वकप सकिने समयसम्म  कुन समयमा को उदाउँछन् ? या को स्टार बन्ने छ ? भन्ने अहिले नै निश्चित नहुन सक्छ । तर, वोक्सले यो विश्वकप मार्फत टी २० मा नयाँ जीवन पाएको भने सत्य हो । धेरैले वोक्सको इङ्ग्लिस टोलीलाई फिर्ता दोस्रो विवाहको संकेत गरेका छन् । जहाँ उनी हनिमुनमा  झैँ रमाइ रहेका छन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार