भारतद्वारा छिमेकी देशलाई ५५ लाख खोप सहयोग 

शुक्रबार, माघ १६, २०७७

नयाँ दिल्ली । भारतले आफ्ना छिमेकी देशहरूलाई कोरोनाविरुद्धको ५५ लाख खोप सहयोग प्रदान गरेको छ । भारतको विदेश मन्त्रालयले एक करोड खोप अफ्रिकी मुलुकहरूलाई दिने योजना रहेको जनाएको छ । त्यसैगरी दश लाख खोप संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीहरूलाई दिन लागिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमन, तथा क्यारेवियाली १५ देश, निकारागुवा, अफ्रिकी प्रशान्त राष्ट्रहरू र आइसल्याण्डलगायतका देशलाई पनि कोरोना विरुद्धको खोप सहयोग गर्ने भारतको योजना रहेको जानकारी दिएका छन् । उनले भारतसँग खोप प्राप्त गर्न पनि धेरै देशहरूले चासो राखिरहेको जानकारी दिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको लडाइमा भारतले धेरै देशहरूलाई साथ दिन चाहेको घोषणा गरेका छन् । मोदीले अन्तर्राष्ट्रिय सहकार्यमा पनि जोड दिएका छन् । तर पहिलो जिम्मेबारी भने छिमेकीहरू प्रति हुने प्रधानमन्त्री मोदीको भनाई छ ।

एक करोड सात लाखभन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण 
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ११ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ६६६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ११ हजार १९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा मा भारतमा कोरोना सङ्क्रमणको कारण १२३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ८४७ जना पुगेको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख ७३ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ७३ हजार ७४० सक्रिय सङ्क्रमित रहेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ९६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र नौ जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८२९ को मृत्यु भइसकेको छ ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १९ करोड ४३ लाख ३८ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधबार एकै दिनमा मात्र सात लाख २५ हजार ६५३ जनाको कोभिड¬–१९ परीक्षण गरेको जनाइएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  ०५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार