जाडेन र आजमीलाई किड ट्राइथलनकाे उपाधि

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं । जाडेन श्रेष्ठ पुरुष र आजमी सेरचन महिलातर्फ लिटल डल्फिन्स् प्रा.लि. किड्स ट्राइथलनको उपाधि हात पार्न सफल भएका छन् । स्कुलस्तरदेखि नै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राइथलन खेलको विकास र विस्तार गर्ने उद्देश्यले नेपाल ट्राइथालन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राइभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ कि.मि. साइक्लिङ र १.५ कि.मि. दौड २० मिनट ५१.६१ सेकेन्डमा पूरा गर्दै उपाधि उचालेका हुन् ।  यस्तै आजमीले उक्त दूरी २३ मिनट १८.१० सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेकी हुन् । विजयी खेलाडीहरूले प्रमाण पत्र, मेडल र १० हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे । कालोपुलस्थित वेष्ट भेन्युमा भएको प्रतियोगितामा ब्वाइजतर्फ अथर्व सिंहले दोश्रो स्थान प्राप्त गर्दा युभन लाल श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे । सिंहले उक्त दूरी २१ मिनट, १२.७२ सेकेन्ड र श्रेष्ठले २२ मिनट, १७.२० सेकेन्डमा पूरा गरे ।  यस्तै गर्ल्सतर्फ परिधि भण्डारीले २५ मिनेट १७.१६ सेकेन्ड र आर्या महर्जनले २६ मिनट १२.५४ सेकेन्डमा दूरी पूरा गर्दै दोश्रो र तेश्रो स्थान हात पारे । दोश्रो र तेश्रो स्थान हात पार्ने खेलाडीहरूले मेडल, प्रमाणपत्रका साथै पाँच हजार र तीन हजारको गिफ्ट भौचर प्राप्त गरे । प्रतियोगितामा ब्वाइजतर्फ जोर्डन श्रेष्ठ र गर्ल्सतर्फ ज्योत्सना भट्ट युवा खेलाडी घोषित भए । उनीहरूले तीन हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे । बिजयी खेलाडीहरूलाई काठमाण्डौं महानगरपालिका- ५ का अध्यक्ष रमेश डंगाेल, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल ट्राइथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा २२ पुरुष  र ७ महिलाको सहभागिता थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १३:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार