ताप्लेजुङमा कोरोनाविरुद्ध खोप लगाउने न्यून

शुक्रबार, कात्तिक १२, २०७८

ताप्लेजुङ :  ताप्लेजुङमा कोरोनाविरुद्धको खोप लगाउने न्यून रहेका छन् । जिल्लामा सुरुदेखि हालसम्म ३५ हजारले मात्र कोरोना भाइरस (कोभिड–१९) विरुद्ध पूर्ण खोप लगाएका हुन् ।

जिल्लामा १८ वर्ष पूरा भएका सबै नागरिकलाई पुग्नेगरी खोप आएको बताइएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक छन् । जिल्लामा उक्त संख्या रहे पनि पछिल्लो समय दुई चरणमा सञ्चालित खोप अभियानमा करिब १५ हजार जनाले मात्र खोप लगाएका रायले जानकारी दिए ।

यस अवधिमा ५० हजारले कोरोनाविरुद्धको खोप लगाउने प्रक्षेपण गरिएको भए पनि करिब ३० प्रतिशतले मात्र खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ । यता अपेक्षाकृत जिल्लाका नागरिकले कोरोनाविरुद्ध खोप नलगाएपछि जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले नागरिकलाई अनिवार्य खोप लगाउन भनेको छ । खोप लगाउनु नागरिकको अधिकार मात्र नभई कर्तव्यसमेत भएकाले खोप अनिवार्य लगाउनुपर्ने समितिको बुझाइ रहेको छ ।

जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोनाविरुद्ध खोप लगाउन मिल्ने नागरिकले नलगाई संक्रामक रोग निवारण ऐनअनुसार कारबाहीसमेत गर्ने तयारी गरिएको सुनाए। पाण्डेले स्थानीय तहका पदाधिकारीलाई आ–आफ्नो क्षेत्रमा खोप लगाउन बाँकी रहेका नागरिकको सूची तयार गरी अनिवार्य खोप लगाउने वातावरण मिलाउनका लागि आग्रहसमेत गरेका छन् ।

खोप लगाउन अटेर गरेको पाइए संक्रामक रोग निवारण ऐनअनुसार कारबाही गर्नु आफ्नो बाध्यता हुने पनि उनको भनाइ छ । स्थानीय तहका पदाधिकारीसहितको उपस्थिति रहेको समिति बैठकमा उनले १८ वर्ष पूरा भएका जिल्लाका सबै नागरिकलाई पुग्नेगरी पर्याप्त खोप आएको जानकारी दिए । 

उनका अनुसार पछिल्लो समय करिब ६१ हजार जनालाई पुग्नेगरी भेरोसिल खोप आएको छ । हाल खोप लगाउने कार्य जारी रहेकाले सबै नागरिकलाई खोप लगाउन उनले आग्रह पनि गरेका छन् ।

यता ताप्लेजुङ हाल कोरोना सङ्क्रमणमुक्त जिल्ला भए पनि जोखिम कायम रहेकाले सबैलाई सावधानी अपनाउनसमेत प्रजिअ पाण्डेले आग्रह गरेका छन् । दसैंपछि तिहार, छठ जस्ता चाडपर्व अझै बाँकी रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मेला, उत्सवजस्ता भिडभाड हुने क्रियाकलाप नगर्न नगराउन समेत सबै पक्षलाई उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार