सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिए । प्रवक्ता प्रा.डा गौतमका अनुसार प्रदेश नं १ मा एक हजार २५५ जना, प्रदेश नं २ मा ७२६ जना, वाग्मती प्रदेशमा दुई हजार ६९४ जना, गण्डकी प्रदेशमा एक हजार ८४३ जना, लुम्बिनी प्रदेशमा ७३३ जना, कर्णाली प्रदेशमा ७५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएका छन् । सरकारले चार लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य लिएको छ । यही माघ ८ गते भारत सरकारले १० लाख मात्रा खोप नेपाललाई अनुदानमा दिएको थियो । काठमाडौँमा खोप केन्द्र रहेका अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अनुगमन गरेका थिए । उनीहरुले त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अनुगमन गरी खोप लगाउने व्यक्ति र सेवा प्रदायकलाई हौसला दिएका थिए । यस्तै मन्त्री त्रिपाठीले वीर अस्पताल, सिभिल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा रहेको खोप केन्द्रको अनुगमन गरेका थिए ।
खोप अभियानमा उत्साहजनक सहभागिता सरकारले आज शुभारम्भ गरिएको कोभिड–१९ विरुद्धको खोपमा उत्साहजनक सहभागिता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले विज्ञप्ति जारी गर्दै खोप कार्यक्रममा सबै खोप केन्द्रमा उत्साहजनक सहभागिताले खोपप्रतिको विश्वास र अभियानको सफलता स्पष्ट दर्शाएको बताएका हुन् । खोप कार्यक्रम अभियान देशभरिका ३०० खोप केन्द्रबाट स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपक्तिमा खटिने सेवा प्रदायकलाई १० दिनभित्र खोप दिइने छ । पहिलो चरणको खोप कार्यक्रमअन्तर्गत चार लाख ३० हजार जनालाई लगाउने लक्ष्य मन्त्रालयको छ । काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा अर्चना श्रेष्ठले कोभिशिल्ड खोपको प्रभावकारिता ६२ प्रतिशत रहेका र कुनै समस्या नगर्ने भएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरिन् । अहिले विश्वमा ९५ वटा खोप विकासको चरणमा र दुई वटा खोपले मान्यता पाइसकेका तथा आठ वटा खोप विभिन्न मुलुकले आकस्मिक प्रयोगका लागि प्रयोग गरिसकेका छन् । कोभिशिल्ड खोप २४ हजारमा परीक्षण गरिएको थियो । जसमध्ये १२ हजार ३१ ले खोप लगाएका थिए । जसमा हजारमा सात जनामा मात्र स्वास्थ्य समस्या देखिएको थियो । यो खोपको कारणले स्वास्थ्य समस्या नगण्य रुपमा देखिएको अध्ययनले देखाएको छ । ब्राजिल, दक्षिण अफ्रिका र अमेरिकामा भएको अनुसन्धानले खोप प्रभावकारिता ६२ प्रतिशत देखिएको छ । आठ हजार ८९५ जना अध्ययनमा भाग लिँदा चार हजार ४५५ लाई खोपजस्तै सुई मात्र दिएको थियो । त्यसमा हजारमा १६ लाई सङ्क्रमण देखिएको थियो भने चार हजार ४४० लाई खोप दिँदा जम्मा हजारमा छ जनालाई खोप सङ्क्रमण देखिएको अध्ययनले देखाएको डा श्रेष्ठले बताउनुभयो ।
प्रदेश नं २ ३४ हजारलाई खोप लगाइँदै
कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबारदेखि प्रदेश नं २ मा पनि शुरु भएको छ । प्रदेशका आठ वटै जिल्लाबाट एकैसाथ यो अभियान प्रारम्भ भएको हो । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा शुरु भएको अभियानअन्तर्गत प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले पहिलो खोप लगाएका थिए । मन्त्री यादव कोरोना पोजेटिभसमेत हुन् । कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि धनुषाको जनकपुरधाम, पर्साको वीरगञ्ज र सप्तरीको राजविराजबाट एकैसाथ शुरु भएको हो । जनकपुरधाममा प्रादेशिक अस्पताल, वीरगञ्जमा नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजमा गजेन्द्रनारायण सिंह अस्पतालबाट अभियान शुरु भएको हो । वीरगञ्जमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा समाजिक विकास मन्त्री नवलकिशोर साहले सो अभियानको शुभारम्भ गरेका थिए । पहिलो चरणमा प्रादेशिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी र शववाहन चालकसहित २२५ जनालाई खोप दिइने छ । त्यसपछि जिल्लाका अन्य स्वास्थ्य संस्था, निजी अस्पतालका स्वास्थ्यकर्मीलाई खोप दिइने छ ।
पहिलो चरणमा भ्याक्सिन लिनेमा २३ हजार ७१ जना चिकित्सक तथा नर्सहरूको नाम दर्ता गरिएको छ । तीमध्ये सरकारी अस्पतालका ११ हजार ७३७ र निजी अस्पतालका ११ हजार ३३४ जनाको नाम दर्ता गरिएको छ । त्यस्तै सात हजार २७ महिला स्वयंसेवीका र एक हजार २०४ सरसफाइकर्मीको नाम दर्ता गरिएको छ । पहिलो चरणमा प्रदेश सरकारले सबैभन्दा बढी धनुषामा ९ हजार १ सय ८२, पर्सामा ४ हजार ९ सय ७१, सर्लाहीमा ४ हजार ७ सय ७२, सिरहामा ३ हजार ९ सय ३०, सप्तरीमा ३ हजार ७ सय ५४, रौतहटमा ३ हजार ६ सय ९, महोत्तरीमा २ हजार १ सय ९१ र बारामा २ हजार ३ सय ९५ डोज खोप लगाउने बताइएको छ ।