कोभिड–१९ विरुद्धको खोप अभियान सुरु 

प्रधानमन्त्रीले शुभारम्भ गरे खोप अभियान  
बुधबार, माघ १४, २०७७

काठमाडौँ । मुलुक भर कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु गरिएको छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री सहभागी थिए । खोप कार्यक्रम शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइएको छ । यस्तै  ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिएको छ । ती सबै अस्पतालहरू खोप शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिएका थिए । नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाएका हुन् । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र कायम गरिएको छ । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो ।


स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् ।  भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो । खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धााश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई पहिलो चरणमा खोप लगाइने सरकारी अधिकारीले जानकारी दिए । 
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमले आज ०.५ मिलीलिटर .(मिली) मात्रा खोप प्रदान गरिने जानकारी दिए । त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्काे मात्राको खोप दिइने छ । खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने छ । खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने उनले बताए । खोप ज्वरो आएको वा कोभिड–१९ को लक्षण भएका वा अन्य सक्रिय सङ्क्रमण भएका अवस्थामा र गर्भवती वा सुत्केरी पहिलो खोप लगाउँदा एनाफाइलेक्सिस भएका दोस्रो मात्र नदिने गर्नुपर्दछ ।
 

‘सबै नेपालीलाई तीन महिनाभित्रै निःशुल्क कोभिड खोप’
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनाभित्र सबै नेपालीले कोरोनाभाइरसविरुद्ध खोप प्राप्त गर्ने बताएका छन् 
कोभिडविरुद्ध खोप अभियानको शुभारम्भ गर्दै ओलीले सबै नेपालीले निःशुल्क खोप प्राप्त गर्ने बताएका हुन् ।
‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्नेछौँ । मेरो विचारमा तीन महिना लाग्न सक्छ जस्तो लाग्छ’, उनले भने । खोप नाफा कमाउने विषय हुनु नहुने र यो सबैको पहुँचमा हुनुपर्ने उनको धारणा छ । 
‘त्यसकारण हामीले नीति लिएका छौँ । कोही पनि नेपाली नागरिक वा नेपालमा बसोबास गर्ने व्यक्तिले निःशुल्क खोप प्राप्त गर्नेछ । चाहे हामी अनुदानका रूपमा प्राप्त गरौँ अथवा हामीले किन्न परोस्। तर हामी हाम्रा देशवासीहरूलाई निःशुल्क बिनाभेदभाव संवेदनशीलताका हिसाबले प्राथमिकताका आधारमा यो खोप उपलब्ध गराउने छौँ’ भर्चूअल कार्यक्रममा उनले भने । खोप प्राप्त भए पनि मास्क प्रयोग, सरसफाइ, सामाजिक दूरी कायम गर्ने विषय र खानपानमा ध्यान दिन उनले सर्वसाधारणहरूलाई आग्रह गरे । खोप कार्यक्रम सुरु गरेर कोभिड विरुद्धको लडाइँलाई माथि उठाएको उनले बताए । कोरोनाभाइरस महामारीविरुद्ध लड्ने क्रममा निभाएको भूमिकाका लागि ओलीले चिकित्सक, नर्स, स्वास्थ्यसेवामा लागेका कर्मचारी, सरसफाइमा खटिएका कर्मचारी, सुरक्षा निकायमा अधिकारीहरू र एम्बुलेन्स सञ्चालकको तदारुकताको प्रशंसा गरे । ‘जनता र देश सेवाको भावको सम्मान गर्न चाहन्छु’ उनले भने ।

कतिपय कार्य परिपक्व नभएको हुन सक्ने भए पनि स्थानीय तह र त्यहाँ जनप्रतिनिधिहरूले औचित्य पुष्टि हुनेगरी काम गरेको भन्दै ओलीले प्रशंसा गरे । नेपालमा सुरु भएको खोप अभियानका लागि भारतले सहयोग दिएको १० लाख मात्रा कोभिशील्ड खोप प्रयोग भइरहेको छ । संसारकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको एक हप्ताभन्दा कम समयभित्रै भारतले लाखौँ मात्रा कोभिडका खोपहरू छिमेकी मुलुकहरूलाई निःशुल्क उपलब्ध गराएको हो । नेपालसहित अन्य देशहरूलाई दिइएको सहयोगलाई धेरैले ‘खोप कूटनीति’ का रूपमा अथ्र्याएका छन् । भारतको औषधि नियामक निकायले अक्सफोर्ड–आस्ट्राजेनेकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड हो । त्यसले नेपालमा पनि आपत्कालीन प्रयोगको अनुमति पाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १२:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार