कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

मंगलबार, माघ १३, २०७७

दुबइ । कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई दुबईका रेष्टुरेन्टहरूमा विषेश छुटको व्यवस्था गरिएको छ । रेस्टुरेन्ट सञ्चालकहरूले खोप लगाउने अभियान प्रभावकारी गराउन र खोप लगाउन प्रेरित गर्नका लागि छुटको व्यवस्था सुरु गरिएको जानकारी दिएका छन् । 
संयुक्त अरब इमिरेट्स (युएइ)का कुल एक करोड बासिन्दा मध्ये अहिले झण्डै २५ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको अधिकारीहरूले जनाएका छन् ।  धेरै जनालाई खोप लगाएका मुलुकहरूमध्ये इजरायलपछि युएइ विश्वभरीको दोस्रो क्रममा रहेको जनाइएको छ ।  रेस्टुरेन्ट व्यवसायीहरूले पहिलो खोप लगाएकालाई १० प्रतिशत र दोस्रो खोप लगाएकालाई २० प्रतिशत छुटको व्यवस्था गरेका छन् । छुट सुविधा उपभोग गर्नका लागि खोप लगाएको आधिकारीक प्रमाणपत्र पेश गर्नु पर्ने सर्त राखिएको छ ।
रेस्टुरेन्ट व्यवसायीहरूको यस अभियानलाई धेरैले सकारात्मक रूपमा लिएका छन् भने सामाजिक सञ्जालमा पनि प्रशंसा भइरहेको छ ।
‘यसलाई दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । यो अभियानले कतिपयले हल्का रूपमा लिने र ठट्टाको विषय बनाउने छन् वा खोप लगाउनका लागि प्रेरित हुनेछन्’ एक जनाले ट्वीटरमा लेखेका छन् ।  युएईको दुबईसहित सात क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने अभियान गत डिसेम्बरदेखि नै चलिरहेको अधिकारीहरूले जनाएका छन् ।  युएइमा चीनमा विकास गरिएको सिनो फार्म र अमेरिकी र जर्मनी साझेदारले विकास गरेको फाइजर खोप लगाइएको छ । सिनो फार्म खोप अहिले पनि निःशुल्क उपलब्ध गराइएको अधिकारीहरूले जानकारी दिएका छन् ।
 युएइमा आइतबार थप तीन हजार ५७९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै युएइमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजारभन्दा बढी पुगेको छ । युएइमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरू मध्ये  अहिलेसम्म ७९२ जनाको मृत्यु भएको छ  ।– एएफपी
 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  ०८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार