सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको दिनको अन्तिम तथा तेस्रो खेलमा ललितपुर महानगरपालिका र चितवनको कालिका नगरपालिकाले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
ललितपुरकी रजनी थोकरले ४५औँ मिनेटमा गोल गरे पनि कालिकाकी निशा थोकरले ६१औँ मिनेटमा बराबरी गोल फर्काएकी थिइन् ।
समूह ‘बी’बाट ४ अंक बनाउँदै ललितपुर दोस्रो चरणमा प्रवेश गर्यो । ललितपुरको दुई खेलबाट ४ अंक रह्यो । यता, दुई खेलबाट कागेश्वरी मनोहरा नगरपालिकाको ३ अंक रहँदा कालिकाको तालिकामा १ अंक मात्र रह्यो ।
यसअघि कालिकाले कागेश्वरी मनोहरालाई १०-० गोल अन्तरले हराए पनि उसलाई प्रतियोगितामा ‘प्रोटेस्ट’ लाग्दा उसको महत्त्वपूर्ण ३ अंक खोसिएको थियो । पराजित बाबजुद कागेश्वरी मनोहराले ३ अंक पायो ।
प्रतियोगिताको नियमावलीविपरीत विभागीय पाँच जना खेलाडी अनुबन्धन गरेपछि कालिकालाई ‘प्रोटेस्ट’ परेको थियो । कालिकाले विभागीय टोलीका एन्जिला तुम्बाप्पो सुब्बा, निशा थोकर, प्रीति राई, सविता राना मगर र अनुस्का शेर्पा खेलाएका थियो । प्रोटेस्ट परेकी अनुस्काले अघिल्लो खेलमा कागेश्वरी मनोहराविरुद्ध ४ गोल गरेकी थिइन् ।
खेलको प्लेअर अफ दि म्याच कालिकाकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बा बनिन् । उनले पाँच हजार रुपैयाँसहित ट्रफी पाइन् ।
मंगलबार पहिलो खेल बिहान ९ बजे समूह ‘सी’अन्तर्गत भक्तपुर नगरपालिका र पुतलीबजार नगरपालिकाबीच हुनेछ । तर, दुवै टोली समूह चरणबाटै बाहिरिसकेका छन् ।
यस समूहबाट बर्दियाको बाँसगढी नगरपालिका ६ अंकसहित समूह विजेता बन्दै नक आउट चरणमा पुगिसकेको छ ।
दोस्रो खेल दिउँसो १२ बजे समूह ‘डी’ देवचुली र जानकी नगरपालिकाबीच हुनेछ । दुवै टोली समूह चरणबाट बाहिरिइसकेका छन् । यस समूहबाट झापाको शिवसताक्षी नगरपालिकाले नक आउटमा स्थान पक्का गरिसकेको छ ।
अन्तिम खेल दिउँसो ३ बजे समूह ‘इ’अन्तर्गत रोङ गाउँपालिका र सिमकोट गाउँपालिकाबीच हुनेछ । सिमकोटको यो पहिलो खेल हो ।
आइतबार काठमाडौं महानगरपालिका र रोङ गाउँपालिकाले गोलरहित बराबरी खेल्दै १-१ अंक बाँडेका थिए ।
उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।