थप ७७६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्‍यु

ताप्लेजुङ बन्यो कोरोना संक्रमणमुक्त जिल्ला
सोमबार, कात्तिक ८, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ५०१ जना निको भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९ हजार ७२९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ भने ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० जना रहेका छन् । जसमध्ये ९ हजार ६१७ जना होम आइसोलेसनमा रहेका छन् भने ७४३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५४ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५० जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८५, झापामा ७८, कास्कीमा ६६, चितवनमा ६४, मोरङमा ६१ जानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा ३३, रुपन्देहीमा २५, मकवानपुरमा १७, सुनसरीमा १३ र नवलपरासी पश्चिममा १२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

ताप्लेजुङ बन्यो कोरोना संक्रमणमुक्त जिल्ला 

ताप्लेजुङ कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त जिल्ला भएको छ । पछिल्लो पटक संक्रमित भई होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङ संक्रमणमुक्त जिल्ला भएको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबार बिहान पाँच जना संक्रमितको रिपोर्ट नेगेटिभ आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार बाँकी रहेको पाथीभरा याङ्वरक गाउँपालिका संक्रमणमुक्त भएपछि सोमबारदेखि ताप्लेजुङ नै संक्रमणमुक्त जिल्ला बनेको हो । जिल्लाको नौ स्थानीय तहमा पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक अन्य सबै पालिका यसअघि नै संक्रमणमुक्त भइसकेका थिए ।

कोभिड–१९ को दोस्रो चरण सुरु भएपछि ताप्लेजुङमा दुई हजार ५३१ जना संक्रमित भएका पनि सहायक प्रजिअ अधिकारी खड्काले जानकारी दिइन् । उक्त संख्यामध्ये सबैभन्दा बढी सदरमुकामस्थित जिल्ला अस्पतालमा गरिएको कोरोना परीक्षणमार्फत ५८५ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसपछि फुङ्लिङ नगरपालिकामा ५५६ जना संक्रमित भएका थिए । सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ जना संक्रमित भएका थिए ।

यता कोभिड संक्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयका अनुसार पीसीआर विधिबाट दुई हजार २८८ र एन्टिजेन विधिमार्फत आठ हजारी गरी कूल १० हजार २८८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार