जिम्न्याष्टिक टोलीको बिदाइ

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं : पाँचौँ बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सोमबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ ।

२६ देखि ३१ अक्टोबरसम्म हुने प्रतियोगिताको सिनियरतर्फ समान चार-चार पुरुष/महिला तथा जुनियर पुरुषमा चार जना खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल जिम्न्याष्टिक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् ।

सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिंकी झा, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धर रहेका छन् । जुनियर पुरुषमा रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपीन दोङ छन् ।

प्रशिक्षकमा राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जन तथा व्यवस्थापकमा पूर्णमान बज्राचार्य छन् । अफिसियलमा सुनिलमान सिंह, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशीलप्रकाश प्रधान रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आइतबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रदेशस्तरीय मिथिला कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता उद्घाटन

सप्तरीको विष्णुपुर गाउँपालिका- ६ मा तेस्रो संस्करणको प्रदेशस्तरीय मिथिला कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

३ कात्तिकदेखि सुरु हुने भनिएको प्रतियोगिता बाढीका कारण स्थगित भएपछि आइतबारदेखि सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले गरेका छन् ।

युवा शक्ति क्लब विष्णुपुर सप्तरीको आयोजना तथा सप्तरी क्रिकेट संघको सहकार्यमा हुन लागेको टी-ट्वाईन्टी क्रिकेट प्रतियोगितामा प्रदेश १ र २ का टिम सहभागी हुँदै छन् ।

पहिलो दिन लहान क्रिकेट क्लब सिरहा र फूलबारी क्रिकेट क्लब सुनसरीबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिता १० दिनसम्म चल्नेछ ।

प्रथम हुने टिमलाई एक लाख र द्वितीय हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार  तथा शिल्ड प्रदान गरिने कोषाध्यक्ष नन्दकिशोर गुप्ताले बताए ।

प्रतियोगितामा लाग्ने कुल अनुमानित १५ लाख रुपैयाँ विष्णुपुर गाउँपालिका र अन्य स्थानीय तहहरूले सहयोग गरेको क्लबका कोषाध्यक्ष गुप्ताले बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  २०:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार