मोरङ बेलवारीमा अन्तरराष्ट्रियस्तरको फुटबल प्रतियोगिता

मुख्यमन्त्रीद्वारा ‘एन्फा टेक्निकल सेन्टर’ निर्माणस्थलको अवलोकन 
शनिबार, कात्तिक ६, २०७८

मोरङ । फुटबल खेलको माध्यमबाट युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि मोरङको बेलवारीमा  ‘चौथो अन्तरराष्ट्रिय आमन्त्रण बेलावारी गोल्ड कप–२०७८’ प्रतियोगिता हुने भएको छ । डाँगिहाट युथ क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक ११ गतेदेखि सञ्चालन हुने फूटवल प्रतियोगितमा नेपाल तथा भारतका गरी आठ टिमको सहभागिता हुने जानकारी दिइयो । प्रतियोगितामा सशस्त्र प्रहरी बल, हिमालय शेर्पा क्लब, च्यासल क्लब काठमाडौँ, आयोजक डाँगीहाट युथ क्लब, मोरङ, रोलिङ क्लब, गाईघाट फुटबल क्लब, राजारानी क्लब, धनकुटा र रोयल फुटबल क्लब, सिलिगुडी (भारत) रहेका छन् ।
प्रतियोगितामा बिजेता टीमलाई रु पाँच लाख, उपबिजेतालाई रु दुई लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिए । क्लबका सचिव शम्भु बस्नेतले  बेलबारी क्षेत्रलाई खेलकूद केन्द्रको विकास गर्न प्रतियोगिताले ठूलो मद्दत पुग्ने विचार राखे । 
बेलबारीको लक्ष्मीमार्गस्थित प्रदेशस्तरीय खेलकुद मैदानमा १० हजार दर्शक अटाउने क्षमताको रङ्गशालामा प्रतियोगिता सञ्चालन गरिने क्लबका सदस्य एवम् सञ्चारकर्मी नरेन्द्र बस्नेतले जानकारी गराए । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा ‘एन्फा टेक्निकल सेन्टर’ निर्माणस्थलको अवलोकन 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले माछापुच्छ«े गाउँपालिका–६ भिडाबारीमा निर्माण प्रस्ताव गरिएको ‘एन्फा टेक्निकल सेन्टर’ निर्माणस्थलको अवलोकन गरेका छन् । 
अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले फुटबलको ‘ड्रिम प्रोजेक्ट’का रूपमा फिफाको लगानीमा टेक्निकल सेन्टर निर्माणको अवधारणा अघि सारेर प्रक्रिया सुरु गरेको सो स्थलको आज मुख्यमन्त्री पोखरेलले निरीक्षण गरेका हुन् ।
अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरेर सेन्टरलाई चार चरणमा सक्ने तयारी एन्फाको छ । फिफाले एन्फाका लागि पठाएको २० लाख डलरबाट सो परियोजना बन्नेछ । ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास तथा ट्रेनिङ सञ्चालन गर्ने एन्फाको योजना छ । असी जना बालबालिकालाई अभ्यासका लागि पनि राख्ने योजना रहेको बताइन्छ ।
अभ्यासका लागि चार खेल मैदानसहित होस्टेल (छात्रबास), जिम हल, गेस्ट रुम(पाहुनाघर), स्विमिङ पुल, पुस्तकालयलगायतका संरचना बनाउने योजना एन्फाको छ । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश समृद्धिको मूल आधार पर्यटन भएको र पर्यटनभित्र खेलकुदका गतिविधिलाई समेट्न सकिने बताए । 
पोखराबाट नजिकै अनि हिमालको काखमा प्रस्ताव गरिएको टेक्निकल सेन्टर निर्माण भएमा पोखरा, गण्डकी मात्र होइन नेपालकै लागि गौरव गर्न लायक हुने विश्वास उनले व्यक्त गरे । 
फुटबल खेल अहिले हरेक परिवारको रुचिको विषय भएकाले पनि यसको प्रवद्र्धनका लागि लगानी गर्न मन सानो गर्न नपर्ने बताउँदै उनले भने, “यो सेन्टरले पोखरा र माछापुच्छ«ेलाई विश्वसामु चिनाउने छ ।” मर्दी र इदी खोलाबीचमा खुला जमिनमा सेन्टर प्रस्ताव गरिएकाले प्रदेशको क्षमताअनुसार तटबन्धनका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता मुख्यमन्त्रीले जनाए ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत गोकुल थापाले ३४२ रोपनी क्षेत्रफलको जमिन २० वर्षका लागि भोगचलन गर्नेगरी सम्झौता भइसकेको जानकारी दिए । डिपिआर तयार भइसकेर वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकेर मन्त्रालयमा बुझाइसकेको भन्दै अब छिटै शिलान्यास गरिने उनले जानकारी दिए । 
प्रस्तावित स्थल मर्दी खोलाले कटान गर्ने भएकाले तटबन्धनको काम भने पहिले नै गर्नुपर्ने हुन्छ । तटबन्धनका लागि गाउँपालिका र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु ५०÷५० लाख गरी रु एक करोड बराबरको काम भइसकेको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार  तटबन्धका लागि थप रु चार करोड ५० लाख आवश्यक पर्छ ।
गण्डकी प्रदेश खेलकुद परिषद्का अध्यक्ष तेजबहादुर गुरुङले नेपालकै लागि गौरवको यो योजना सफल पार्न सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । 
लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले विभिन्न अड्चन बेहोर्दै परियोजना अहिलेको अवस्थामा आइपुगेको भन्दै अब छिटोभन्दा छिटो शिलान्यास गरेर काम थाल्नुपर्नेमा जोड दिए । एन्फा कास्की अध्यक्ष मिलन गुरुङले यो परियोजनालाई कमजोर बनाउन चारैतिरबाट आक्रमण भइरहे पनि आफू निरन्तर लागिरहेको बताए । 
अनुगमनमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले, मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, प्रदेश सरकारका प्रमुख सचिव डा दामोदर रेग्मी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद आचार्य, प्रदेश  खेलकुद परिषद्का पदाधिकारी, राजनीतिक दलका स्थानीय प्रतिनिधि सहभागी थिए ।–रासस 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  ०८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार