महिला मेयर कप प्रतियोगितामा गोदावरीविरुद्ध कन्काईको आधा दर्जन गोल 

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं : झापाको कन्काई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट खेलमा ललितपुरको गोदावरी नगरपालिकाविरुद्ध आधा दर्जन गोलसहित विजयी सुरुवात गरेको छ । 

बिहीबार सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा कन्काई नगरपालिकाले गोदावरी नगरपालिकालाई १२-० गोल अन्तरले पराजित गरेको हो । 

कन्काईको जीतमा कुसुम खतिवडाले ह्याट्रिकसहित ६ गोल गरिन् भने कप्तान लक्ष्मी श्रेष्ठले पनि ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै, इमा राई र मनिता तुम्रुकले १-१ गोल गरे । 

राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा समेत परेकी युवा स्ट्राइकर कुसुमले खेलको १९, ६०, ७२, ८०, ८५ र ९० मिनेटपछि थपिएको एक मिनेटमा गोल गरिन् । 

यता, कप्तान लक्ष्मीले खेलको १६, २५, ४५ मिनेटपछि थपिएको एक मिनेट र ४८ मिनेटमा गोल गरिन् । यस्तै, मनिताले ५६ मिनेटमा गोल गर्दा इमाले ६३ मिनेटमा गोल गरेकी थिइन् । 

खेलको प्लेयर अफ दि म्याच कन्काईकी दीपा शाही घोषित भइन् । 

जीतसँगै समूह 'ए'मा कन्काई महत्त्वपूर्ण ३ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । समान ३ अंक भए पनि कन्काईले सर्लाहीको बाग्मती नगरपालिकालाई गोल अन्तरमा पछि पारेको हो । 

आजै भएको प्रतियोगिताको उद्घाटन खेलमा बाग्मतीले लतिलपुरको महालक्ष्मी नगरपालिकालाई ९-० गोल अन्तरले पराजित गरेको हो । 

बाग्मतीको जीतमा राष्ट्रिय टोलीकी स्ट्राइकर रश्मिकुमारी घिसिङले ह्याट्रिकसहित ५ गोल गरिन् । यस्तै, राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी रेणुका नगरकोटीले २ गोल गर्दा बाग्मती नगरपालिकाकी कप्तान अनु राई र सुदीपा भोलोनले समान १-१  गोल गरे ।

प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । समूह 'ए'मा चार र अन्य समूहमा तीन टोली रहेका छन् । समूहका विजेता ‘नक आउट’ चरणमा प्रवेश गर्नेछन् ।

दिनमा ३ खेल आयोजना हुँदा समूह चरणको खेल १५ कात्तिकसम्म हुनेछ । २२ गतेदेखि प्रतियोगिताको नक आउट खेल हुँदा फाइनल खेल २८ कात्तिकमा हुनेछ ।

गत सिजनको राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेका तीन विभागीय (नेपाल पुलिस, आर्मी, एपीएफ)सहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले प्रतियोगितामा ‘बाई’ पाएका छन् । 

फाइनल पुग्ने दुईवटा क्लब छनोट भएसँगै अर्को राष्ट्रिय लिग खेल्ने टोली आठ पुग्नेछन् । यस पटक छनोट खेलमा प्रत्येक टोलीले चार विभागीय खेलाडी खेलाउन पाउने प्रावधान छ । 

उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख रुपैयाँ पाउनेछ । फेयर प्ले टिमले नगद ५० हजार रुपैयाँ पाउनेछ ।  

यता, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्दा एक सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछ । यस्तै, प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले पाँच हजार रुपैयाँ पाउनेछन् । 

राष्ट्रिय महिला लिगको साविक विजेता एपीएफ क्लब हो । डबल राउन्ड रोबिनको आधारमा भएको लिगमा एपीएफले दोस्रो स्थानको आर्मीभन्दा १० अंकको अग्रतासहित उपाधि हात पारेको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  २०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार