एट्लेटिकोमाथि लिभरपुलको नाटकीय जित

मिलान पराजित
बुधबार, कात्तिक ३, २०७८

काठमाडौं : इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगअन्तर्गत समूह ‘बी’को नाटकीय खेलमा १० खेलाडीमा सीमित स्पेनिस एट्लेटिको मड्रिडमाथि ३-२ को जित हासिल गरेको छ । 

मंगलबार राति घरेलु मैदानमा एट्लेटिकोका लागि दुई गोल गरेका एन्टोनी ग्रिजम्यानले ५२ औं मिनेटमा सोझै रातो कार्ड सामना गरेपछि एट्लेटिकोले बाँकी समय १० खेलाडीमा सीमित भएर संघर्ष गर्नुपरेको थियो । 

लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा नाबी केइटाले एक गोल गरे । पराजित एट्लेटिकोको लागि दुबै गोल रातो कार्ड सामना गरेका ग्रिजम्यानले गरे । 

खेलको आठौं मिनेटमा मोहम्मद सालाहले लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि नाबी केइटाले २-० को अग्रता बनाए ।

तर, खेलको २० औं मिनेटमा पहिलो गोल गरेका ग्रिजम्यानले ३४ औं मिनेटमा गोल गर्दै खेललाई मध्यान्तरमा २-२ को  बराबरीमा ल्याएका थिए । 

७८ मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै अवे खेलमा महत्त्वपूर्ण तीन अंक दिलाए ।

समूह बी को अर्को खेलमा मंगलबार राति एफसी पोर्टोले एसी मिलानमाथि १-० को जित हासिल गर्‍यो । पोर्टोलाई घरेलु मैदानमा जित दिलाउन लुइस डियाजले ६५ औं मिनेटमा निर्णायक गोल गरे ।

३ खेलमा ९ अंक जोडेको लिभरपुल समूहको शीर्ष स्थानमा रहँदा समान ४ अंक जोडेको एट्लेटिको र पोर्टो दोस्रो र तेस्रो स्थानमा छन् । मिलानले अंकको खाता खोल्न सकेको छैन । 

रियल मड्रिडको सहज जित

 स्ट्राइकर भिनिसियस जुनियरको दुई गोल प्रेरित स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगमा युक्रेनको शाख्तर डोनेश्कमाथि ५-० को एकतर्फी नतिजा हासिल गरेको छ । 

मंगलबार राति समूह ‘डी’ को खेलमा  सहज जित निकाल्ने क्रममा रियलको लागि भिनिसियसले दुई तथा रोडरिगो र करिम बेन्जेमाले एक एक गोल गरे । एक गोल भने रियलले उपहार पायो । 

रियलले मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा सेर्गे क्रिभट्सोभको आत्मघाती गोलबाट अग्रता लियो । खेलको ५१औं मिनेटमा भिनिसियले पहिलो गोल गर्दा दोस्रो ५६ मिनेटमा सम्भव भयो । 

रोडरिगोले ६५ औं मिनेटमा रियलका लागि चौथो गोल गरे भने करिम बेन्जेमाले इन्जुरी समयमा गोल थप्दै रियालको जित थप फराकिलो पारे । 

मंगलबारै भएको समूह डी को अर्को खेलमा इन्टर मिलानले घरेलु मैदानमा एफसी सेरिफमाथि ३-१ को जित हासिल गर्‍यो । 

हारका बावजुद पहिलो दुई खेलमा जित हासिल गरेको सेरिफ ६ अंकका साथ समूह ‘डी’को शीर्ष स्थानमा छ । समान ६ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ ।

तीन खेलमा चार अंक जोडेको इन्टर तेस्रो स्थानमा रहँदा एक अंकमा सीमित शाख्तर पुछारमा छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार