सोमबार थपिए पाँच सय ९१ सङ्क्रमित

सोमबार, कात्तिक १, २०७८

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५९१ सङ्क्रमण देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ६९७ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पाइएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ८७४ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १७ छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.६ प्रतिशत छ । 
पछिल्लो २४ घण्टामा ९३७ जनाले सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमित सात लाख ८२ हजार ३९३ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको छ । 
यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा नौ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २९३ जनाको निधन भइसकेको छ । 
आज २७ हजार ७०१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८४ लाख १५ हजार ६७ जनाले पहिलो मात्रा र ६४ लाख ७० हजार १९५ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

प्रदेश नं १ मा ९७ सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिलासहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमितमध्ये झापामा ३७, मोरङमा ३१, सुनसरीमा १४, इलाममा चार, उदयपुर र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण पुष्टि भएको हो । स्थानीय तहअनुसार झापाको विर्तामोडमा १२, मेचीनगरमा नौ, शिवसताक्षीमा चार, कनकाईमा तीन, भद्रपुर, अर्जुनधारा दमक र कमल गाउँपालिकामा दुईरदुई, गौरादहमा एक, मोरङको विराटनगरमा २१, सुन्दरहरैचामा तीन, बुढीगङ्गामा दुई, कटहरी, पथरीशनिश्चरे, ग्रामथान, उर्लाबारी र सुनवर्षीमा एकरएक, सुनसरीको इटहरी र स्थानीय तह नखुलेकामा पाँचरपाँच, धरानमा तीन, भोक्राहानरसिंहमा एक, इलामको रोङमा दुई, इलाम नगरपालिका र माईमा एकरएक, उदयपुरको कटारी र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आजै ३१ महिलासहित ८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने पाँच महिलासहित छ जनाको मृत्यु भएको छ ।

असोज मसान्तमा लक्षितभन्दा बढीलाई खोप 
कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोजमसान्तमा लक्षित जनसङ्ख्यामध्ये ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेकामा उक्त लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको तथ्याङ्क छ । 
प्रधानमन्त्री शेरबहादुर देउवा गत असार २९ गते नियुक्त भएलगत्तै कोरोना महामारीबाट नेपाली नागरिकलाई बचाउने कार्यलाई पहिलो प्राथमिकता दिइने र यसका लागि खोपको व्यवस्था गरी असोज मसान्तसम्म कम्तीमा एक तिहाइ लक्षित वर्गलाई खोप लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 
सोही प्रतिबद्धताबमोजिम स्वास्थ्य मन्त्रालयको समन्वयमा सरकारले खोपको व्यवस्था पनि गरेको हो । मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले असोज मसान्तभित्र लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको जानकारी दिए ।
मन्त्रालयको तथ्याङ्कमा लक्षित वर्गमध्ये ४२.२ प्रतिशतलाई पहिलो मात्रा र ३३.५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ । १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको थियो । 
मन्त्रालयको असोज मसान्तसम्म ३३ प्रतिशत, पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप लगाउने योजना रहेको छ ।
महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिलेसम्म नेपालमा एक करोड ८८ लाख ५८ हजार ७१० मात्रा खोप नेपाल आइसकेको छ । 
उनले अब दुई करोड ४१ लाख ५८ हजार ७८० मात्रा खोप खरिद, कोभ्याक्स सुविधामार्फत ल्याइने जानकारी दिए । उनले बालबालिकालाई लगाउने फाइजर एक लाख ६२० मात्रा खोप यही अक्टोबरको अन्तिममा ल्याउने तयारी गरिएको छ । 
सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना ४० लाख र ६० लाख फाइजर खोप ल्याएर लगाउने तयारी गरेको छ । यस्तै चीनबाट भेरोसेल खोप यही अक्टोबरमा १६ लाख मात्रा र पुससम्ममा ५९ लाख ३६ हजार ४०० मात्रा ल्याउने तयारी पनि थालेको उनले बताए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार