कोरोना भाइरसबाट बेलायतमा एकै दिन एक हजार ८२० जनाको मृत्यु

बिहीबार, माघ ८, २०७७

लन्डन । बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एकैदिनमा एक हजार ८२० जनाको मृत्यु भएको छ । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीका अनुसार बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा ज्यान गएको यो पहिलो पटक हो । अधिकारीका अनुसार बुधबारसम्ममा यहाँ ९३ हजार २९० जनाको कोरोना भाइरसबाट निधन भएको छ । पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । बेलायतबाट नै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको छ ।  विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार सो भाइरस यो साता मात्रै विश्वका थप १० वटा देशमा पुगेको छ । महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ । बेलायतमा बुधबारमात्र ३८ हजार ९०५ जना नागरिकमा यो सङ्क्रमण देखिएको छ । हालसम्म बेलायतममा ३५ लाखभन्दा बढी संक्रमित भएका छन् । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १९:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार