प्रदेशस्तरीय फुटबल प्रशिक्षणका लागि एन्फा र प्रदेश खेलकुद विकास परिषद्बबीच सम्झौता  

बिहीबार, माघ ८, २०७७

वाग्मती । वाग्मती प्रदेश खेलकूद विकास परिषद् तथा नेपाल फुटबल सङ्घ (एन्फा)बीच बुधबार रेफ्रीलाई प्रशिक्षणका विषयमा सम्झौता गरिएको छ । प्रदेशस्तरीय रेफ्री प्रशिक्षणका लागि प्रदेश खेलकूद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी तथा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच सम्झौता गरिएको हो । प्रदेश सरकारले १३ जिल्लामा हुने सम्पूर्ण खेलकूद गतिविधिलाई प्रशिक्षक र रेफ्री सहज वातावरणमा उपलब्ध गराउने उक्त सम्झौताले सहयोग पुग्ने परिषद्का सदस्य सचिव भण्डारीले जानकारी दिए । प्रदेशमा हुने सबै खेलकूदका  गतिविधिमा सङ्घको पनि संलग्नता हुने गरी सम्झौता गरिएको उनले बताए । एन्फाले फुटबल प्रशिक्षक कोर्ष गराउने तथा परिषद्ले क्रिकेटको क्यानसँग र बक्सिङ सङ्घसँग मिलेर प्रदेशस्तरीय प्रशिक्षणको तयारी गर्ने पनि भण्डारीले जनाए । प्रदेशमा फुटबल प्रशिक्षक आवश्यक सङ्ख्यामा रहे पनि क्रिकेट र बक्सिङका लागि सहजरुपमा प्रशिक्षक तथा रेफ्री उपलब्ध छैनन् । प्रदेशस्तरीय फुटबल, क्रिकेट तथा बक्सिङका लागि प्रशिक्षक र रेफ्री कोर्ष गराउने कार्यक्रमअन्तर्गत फुटबल खेलका लागि एन्फासँग सम्झौता गरिएको सम्झौतापत्रमा उल्लेख छ । 

महिला लिग फुटबलमा आर्मी र पुलिसको गोलरहित बराबरी 
राष्ट्रिय महिला फुटबल लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको खेलमा दुवै टिमले गोल गर्न सकेनन् । दुवै विभगीय टोलीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । खेलको पहिलो हाफमा पुलिसका खेलाडी आर्मीका खेलाडीमाथि हाबी भएका थिए । मध्यान्तरपछिको खेलमा भने पुलिसले आर्मीभन्दा राम्रो खेल्यो तर गोल गर्न भने सकेन । खेलको ३०औँ मिनेटमा पुलिसकी निरु थापाको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरिएको थियो । खेलको ४३औँ मिनेटमा आर्मीकी रश्मी घिसिङले गोल गर्ने मौका गुमाइन् । यस्तै मध्यान्तरपछिको खेलको ८५औँ मिनेटमा पुलिसकी रेखा पौडेलले गोलको प्रयास गरेकी थिइन् । गोलरहित बराबरी खेल्दै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । पुलिसका मुख्य प्रशिक्षक सञ्जीव जोशीले आर्मीविरुद्धको खेलमा आफ्नो टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको प्रतिक्रिया दिए । यस्तै आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले खेल बराबरीमा टुङ्गिए पनि आफू सन्तुष्ट रहेको बताए । बिहीबार लिगमा दुई खेल हुनेछन् । पहिलो खेल एपीएफ क्लब र चन्द्रपुर नगरपालिकाबीच तथा दोस्रो खेल विराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछन् । पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी छन् । एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । 
महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुन लागेको हो । पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न पाएको  थिएन । यसपटकको महिला लिगमा सहभागी टोलीले चार विदेशी खेलाडीसमेत राख्न पाउने छन् । प्रतियोगिताको विजेता टोलीले १० लाख, दोस्रोले आठ लाख, तेस्रोले पाँच लाख तथा चौथो हुनेले तीन लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही  ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रधानमन्त्री कपमा आर्मी र पुलिस विजयी  

चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आआफ्नो खेलमा विजयी भएका छन् । आर्मीले प्रदेश नं १ लाई चार विकेटले तथा पुलिसले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गरेको हो ।  मूलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा टस जितेर प्रदेश १ ले ब्याटिङ गर्दै ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १३१ रन बनायो । एक सय ३२ रनको विजय लक्ष्य आर्मीले २९ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । आर्मीका लागि रोहितकुमार पौडेलले सर्वाधिक ३६ रनको योगदान दिए । 
यस्तै भीम सार्कीले २९, राजेश पुलामीले अविजित २४ तथा लोकेश बमले १३ रन बनाए । बलिङतर्फ प्रदेश १ का लागि फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभाङ्कर उरावले एक एक विकेट लिनुभयो । यसअघि पहिला ब्याटिङ गर्ने क्रममा प्रदेश १ का लागि विवेक मेहताले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै फिर्दोस अन्सारीले ३२, दीपक पासवानले १९ तथा दिपेश कँडेलले ११ रन बनाए । 
बलिङतर्फ आर्मीका लागि शाहव आलम एक्लैले चार विकेट लिए । यस्तै आकाश चन्दले तीन विकेट लिए । जितसँगै आर्मी तीन खेलमा ६ अङ्कका साथ सेमिफाइनल नजिक पुगेको छ । तीन खेलमा हार बेहोरेको प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको छ । 
यसैगरी कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको अर्को खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम प्रदेशले ३३ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै ११० रन बनायो । एक सय ११ रनको विजय लक्ष्य पुलिसले १७ दशमलव एक ओभरमा एक विकेटको क्षतीमा पूरा ग¥यो । पुलिसका लागि सुनील धमलाले ५७ तथा कुशल भुर्तेलले अविजीत ५१ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले एक विकेट लिए । 
यसअघि पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमका खड्क बोहोराले ४०, सञ्जु धाँमीले ३५, अरुण ऐरीले १३ तथा अर्जुन साउदले १० रन बनाउनुभयो । बलिङतर्फ पुलिस क्लबका सागर ढकालल र दीपेन्द्रसिंह ऐरीले चार चार विकेट लिए । 
 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार