नेपालसहित धेरै देशलाई आजबाट भारतले कोरोना खोप उपलब्ध गराउने

बुधबार, माघ ७, २०७७

नयाँदिल्ली । भारतको विदेश मन्त्रालयले नेपालसहित उसका छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा गरेको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोभिड महामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सेसल्सलाई बुधवारबाट खोप अनुदानमा वितरण गरिने उल्लेख छ । नेपालले कति परिमाणमा खोप प्राप्त गर्छ खुलिसकेको छैन । सरकारले गठन गरेको विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले प्राप्त हुनलागेको खोपको परिमाण जानकारी नभइसकेको बताए । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले ‘यस विषयमा उपयुक्त समयमा जानकारी दिने’ बताए । भारतीय विदेशमन्त्रालयले श्रीलंका, अफगानिस्तान र मोरिससलाई त्यहाँका नियामक निकायहरूले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने जनाएको थियो । 
नेपालको नियामक निकायको अनुमति
अघिल्लो साता नेपालको औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड एस्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । भारतले चरणबद्ध रूपमा अति अग्रमोर्चामा खटिने कामदार र जोखिममा रहेका जनसंख्यालाई खोप उपलब्ध गराउँदै आइएको भन्दै अरू साझेदार देशहरूलाई पनि चरणबद्ध रूपमा आगामी हप्ता र महिनामा खोप उपलब्ध गराउने उल्लेख गरेको छ । विदेश मन्त्रालयको विज्ञप्तिमा देशभित्रका उत्पादकहरूले भारतभित्रको आन्तरिक माग पुरा गर्ने हिसाबको पर्याप्त भण्डारण गरेपछि खोप बाहिर पठाउने कुरा सुनिश्चित गरिने उल्लेख गरेको छ । हालै नेपालले झण्डै ६० लाख मानिसहरूका लागि कोभिशिल्ड खोप भारतबाट खरिद गर्ने इच्छा जाहेर गरेको छ । त्यसका लागि सघाउन भारत सरकारलाई औपचारिक रूपमा नै अनुरोध गरिएको भएपनि खोप खरिदबारे ठोस निर्णय आइसकेको देखिदैँन ।–बीबीसी
 

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  ०६:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार