बेलायतमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित 

कोरोना भाइरसको नयाँ स्ट्रेन 
बुधबार, माघ ७, २०७७

लन्डन । सन् २०२० को डिसेम्बरसम्म इङ्यान्डमा १२ प्रतिशत मानिस कोरोनाभाइरसमा संक्रमित भइसकेका एक अध्ययनले पुष्टि गरेको छ । यो सङ्ख्या नोभेम्बरमा नौ प्रतिशत रहेको अर्थात् एक महिनामा तीन प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक सरकारी एन्टिबडी परीक्षण तथ्याङ्कले देखाएको छ । वेल्समा प्रत्येक १० मा एक जना, उत्तरी आयरल्याण्डमा हरेक १३ मा एक र स्कटल्याण्डमा हरेक ११ मा एक जनामा सङ्क्रमण भएको हुनसक्ने बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) को तथ्याङ्कले देखाएको छ । बेलायतमा कोभिड–१९ को तेस्रो लहर छाएको छ र पछिल्लो समय देखिएका नयाँ प्रकारको भाइरस बढी सङ्क्रामक रहेको बताइएको छ । सङ्क्रमण र मृत्युका घटनामा बढ्दो समस्याले थप चुनौती सर्जिना गरेको र मुलुकमा दैनिक कोभिड–१९ सङ्क्रमितको मृत्युको उच्च सङ्ख्या हुनुमा नयाँ प्रकारको कोभिड–१९ को सङ्क्रमण फैलिनु भएको हुनसक्ने भन्दै स्वास्थ्य प्रमुखहरूले अस्पतालका सघन उपचार कक्षहरूलाई सचेत बनाएका छन् । ओएनएसका अनुसार जनवरीको पहिला ८ दिनमा समग्र मृत्युदर पाँच वर्षको औसतभन्दा ४५ प्रतिशत बढी थियो । जबकि केन्द्रीय तथ्याङ्क  कार्यालयले छुट्टीको अवधिमा अस्वाभाविक वृद्धि भएकोप्रति पनि सचेत गराएको छ । विशेषगरी पछिल्लो लहरले गम्भीर नतिजा देखाएको लन्डनमा मृत्युको सङ्ख्यामा ८५ प्रतिशतले वृद्धि भएको छ । यो सोही हप्ताको ऐतिहासिक औसतको तुलनामा अस्वभाविकरूपमा बढी हो । क्याम्ब्रिज विश्वविद्यालयको मेडिकल रिसर्च काउन्सिलले गत हप्ता सार्वजनिक रिपोर्टमा लन्डनमा सङ्क्रमित जनसङ्ख्याको अनुपात ३० प्रतिशत रहेको अनुमान गरेको छ । बेलायतले अहिलेसम्म कूल ९० हजारभन्दा बढीको मृत्यु भएको छ र यो महामारीका कारण धेरै प्रभावित मुलुकमध्ये अग्रस्थानमा पर्छ ।

कोरोना भाइरसको नयाँ स्ट्रेन 
बेलायतसहित कैयौँ देशमा कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) फेला परेको छ । कोरोनाको नयाँ प्रकारका बारेमा अस्ट्रेलिया, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, इटाली र डेनमार्कले चिन्ता प्रकट गरेका छन् । बेलायतमा देखापरेको नयाँ प्रकार पहिलेको भन्दा ७० प्रतिशतको गतिमा फैलिएको छ । यसलाई बी.१.१.७ नाम दिइएको छ । दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारी एवं भाइरलोजिस्टले यसलाई ५०१ भी२ भएको बताएका छन् । 
क्याम्ब्रिज विश्वविद्यालयका भाइरलोजिस्ट रवि गुप्ताले सोमवारसम्म नयाँ प्रकारको भाइरसका ६ हजार संक्रमित फेला परेको बताएका छन् ।  तीमध्ये सबैभन्दा बढी बेलायत र डेनमार्कमा रहेको उनले जानकारी दिएका छन् । इटालीले पनि आफ्नो देशमा नयाँ प्रकारका संक्रमित फेला परेको जानकारी दिएको छ ।  नेपाल–भारत जस्ता कुपोषण युक्त मुलुकमा नयाँ प्रकार खतरनाक हुने बताइएको छ । प्रतिरोधक क्षमता कमजोर भएका व्यक्तिमा नयाँ प्रकारले छिटै प्रभावित गर्ने र लामो समयसम्म प्रभावित गर्न सक्ने दाबी गरिएको छ । हाल सामान्य रूपमा स्वस्थ व्यक्तिमा कोरोना भाइरस दुईदेखि तीन सातासम्म रहने गरेको छ । कोरोनाको नयाँ प्रकार कुपोषणयुक्त व्यक्तिमा चार महिनासम्म रहन सक्छ । भाइरस उत्परिवर्तन (म्यूटेशन) भएपछि भाइरसको नयाँ स्वरूप देखापरेको हो । भाइरस डीएनए आधारित र आरएनए (राइबो न्यूक्लिक एसिड) आधारित हुन्छन् । सार्स सीओभी–२ आरएनए आधारित भाइरस हो । इन्फ्लुएन्जा, एचआईभी, डेंगु र कोभिड आरएनए आधारित भाइरस हुन् । यी भाइरसले प्रत्येक वर्ष आफ्नो स्वभाव बदल्छ । इन्फ्लुएन्जा भाइरसका लागि प्रत्येक वर्ष खोप लिनु आवश्यक हुन्छ  । एचआईभी र डेंगुको हालसम्म खोप बन्न सकेको छैन । डेंगुको भाइस पनि उत्परिवर्तन भइरहन्छ । कोभिड पनि यसै वर्गमा पर्छ । कोरोना भाइरसको एक वर्षमा पहिलो पटक ठूलो मात्रामा उत्परिवर्तन देखिएको हो ।–एजेन्सी
 

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  ०५:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार