जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा जीन एक्सपर्ट मेसिन जडान

शनिबार, असोज २३, २०७८

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा जीन एक्सपर्ट मेसिन जडान

न्युज कारखाना

बैतडी, २३ असोज

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा जीन एक्सपर्ट मेसिन जडान गरिएको छ । क्षयरोग पत्ता लगाउन र यो रोगको विरूद्धमा प्रयोग गरिने औषधिहरूले काम गरेको नगरेको पत्ता लगाउन यो मेसिन जडान गरिएको जिल्ला अस्पतालका बरिष्ठ ल्याब असिष्टेन्ट चन्द्रसिंह डोबालले जानकारी दिए । 

क्षयरोगको पहिचान तथा क्षयरोगका विरामीहरुका लागि प्रयोग गरिने रिफाम्पिसिन औषधिले काम गरे नगरेको बारेमा परीक्षण गर्न सो मेसिनले सहयोग गर्ने उनले बताए ।

क्षयरोगका विरामीहरुका लागि औषधिले काम गरिरहेको भए पनि ६ महिना नियमित रुपमा औषधि खुवाउनुपर्ने र औषधिले काम नगरेको पाइएमा २० महिना औषधि खुवाउनुपर्ने हुन्छ । क्षयरोगका विरामीको उपचारका लागि यो कुरा पत्ता लगाउन जीन एक्सपर्ट मेसिनले काम गर्ने डोबालको भनाइ छ  । उनकाअनुसार राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको सहयोगमा जिल्ला अस्पतालमा सो मेसिन जडान गरिएको हो ।  

जिल्ला अस्पतालमा यो सेवा सुचारु भएसँगै अब क्षयरोगका विरामीले थप चेकजाँचका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । क्षयरोगका बिरामीको उपचारमा प्रयोगका भएका औषधिले काम गरे नगरेको बिषयमा जानकारी लिन पहिला विरामीलाई डडेल्धुरा तथा धनगढी पठाउनुपर्ने बाध्यता रही आएको थियो । 

जिल्ला अस्पतालमै यो सेवा शुरु भएपछि अब बिरामीहरुलाई पनि सजिलो हुने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका प्राविधिकहरुको टोलीले जिल्ला अस्पतालमा सो मेसिन जडान गरेको हो ।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार