दार्चुला घटना : भारतसित वार्ता गर्न प्रतिपक्षी सांसदको माग

बुधबार, साउन २०, २०७८

काठमाडौँ । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले केही दिनअघि दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा एक नेपाली युवाको ज्यान गएको घटनामा भारतीय पक्षसँग वार्ता गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने एमाले सांसदहरुले दार्चुलामा एसएसबीले तुइन काट्दा स्थानीय जयसिंह धामी बेपत्ता भएको घटनालाई सरकारले गम्भीरतापूवर्क नलिएको आरोप लगाए । 
सांसदहरुले महाकालीमा बेपत्ता धामीको खोजी गर्न तथा उनको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।  सांसद खिमलाल भट्टराईले एसएसबीले तुइन काटिदिँदा पनि सरकार मौन बसेकामा आपत्ति प्रकट गरे । भारतसित ठोस् पहल गर्नका लागि सरकार पछि हटेको उनको आरोप थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना समकक्षीसित तत्काल वार्ता गर्न भट्टराईले माग गरेका छन् ।  “वर्तमान सरकारले तुइन विस्थापन गर्न उचित कदम चालोस्”, भट्टराईले भने । अघिल्लो सरकारले नै खोपको आपूर्ति गरेको तर वर्तमान सरकारले त्यसलाई आफ्नो उपलब्धि ठानीरहेको आरोप लगाए । थप खोप आपूर्तिका लागि वर्तमान सरकारले कुनै पहल गर्न नसकेको उनले आरोप लगाए । 
सांसद इन्दु कडरियाले एसएसबीले तुइन काटेर अमानवीय काम गरेको भन्दै त्यसको जति निन्दा गरे पनि कम हुने बताइन् । उनले तुइन काटेको घटनाप्रति सरकार संवेदनशील हुन नसकेको आरोप लगाइन् । खुला सीमानाका कारण एसएसबीको ज्यादती बढेको उनको भनाइ थियो । “यस्तो ज्यादती कहिलेसम्म सहेर बस्ने रु यसप्रति गम्भीर बन्न सबैको ध्यानाकर्षण गर्न चाहन्छु”, उहाँले भनिन् । 
सांसद सिंगबहादुर विश्वकर्माले समावेशीकरणसम्बन्धी कानूनको माग गरे । सांसद ठगेन्द्रप्रसाद पुरीले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेर भूमिहीनका समस्या समाधान गर्न खोजेको की बढाउन खाजेको भन्दै सरकारलाई प्रश्न गरे ।  
सांसद भगवती न्यौपानेले भूमिहीनलाई जग्गा दिने उद्देश्यले केपी शर्मा ओली नेतृत्वको सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको प्रसङ्ग उल्लेख गर्दै वर्तमान सरकारले आयोग विघटन गरेर गल्ती गरेको आरोप लगाइन् । 
 
घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा स्पष्ट पार्न सरकारसँग आग्रह गरेका छन् ।  बैठकमा सत्तारुढ नेपाली कांग्रेसका सांसद अनिता देवकोटाले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा ३३ वर्षीय धामी बेपत्ता भएको प्रकरणमा स्पष्ट जवाफ दिन माग गरिन् ।  उनले धामीको खोजीका लागि पहल गर्नुपर्नेमा जोड दिँदै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन पनि माग गरिन् । उनले आफ्नै भूमि भएर सदरमुकाम आवतजावत गर्र्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेकी छन् ।  लामो समय हुँदा पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन नसकेकोप्रति गुनासो राख्दै उनले वर्तमान सरकारबाट जनताले परिणाम खोजेको बताइन् । 
कांग्रेसका अर्का सांसद रमेशजङ्ग रायमाझीले प्रतिपक्षी दलबाट आएको अभिव्यक्तिप्रति इङ्गित गर्दै सरकार कुन आधारमा निर्दलीय सरकार भयो भनी प्रतिप्रश्न गरे । उनले संसद्बाटै बहुमतको आधारमा विश्वासको मत प्राप्त सरकार भएको स्पष्ट पारे । उनले कोरोनाविरुद्धको खोप लगाउने कामलाई प्राथमिकतामा राख्न माग गरे । 
सांसद रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दुई वर्षमा तुइन विस्थापित गर्ने घोषणा घोषणामै सीमित रहेको आरोप लगाए । उनले अझै धेरै ठाउँमा तुइन यथावत रहेको र महाकालीमा मात्रै सातवटा तुइन बाँकी रहेको जानकारी गराउँदै तुइन तर्दा धामी नदीमा बेपत्ता भएको घटना स्मरण गराए । बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामीले दार्चुलाको महाकाली नदीमा भएको घटनाका विषयमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरेका छन् । 
भारतसँगको उच्चस्तरीय वार्तामार्फत समस्या समाधान गर्न पनि उनले सरकारलाई सुझाव दिएका छन् । उनले जाजरकोटको एक गाउँपालिकाका वडाध्यक्षले सेवाग्राहीमाथि ज्यादती गरेकाले सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  २०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार