बाढी प्रभावितलाई अस्थायी आवास निर्माण शुरु

बुधबार, साउन ६, २०७८

सिन्धुपाल्चोक । हेलम्बुका बाढी प्रभावितलाई अस्थायी आवास निर्माण शुरु भएको छ । लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीले विपद्ग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ । हेलम्बु गाउँपालिकाको हल्दे, तिम्बुलगायतका बाढी प्रभावितको घर बनाउने जिम्मा लिएको इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेलले जानकारी दिए । मङ्गलबार हेलम्बु गाउँपालिका र इन्द्रेणीबीच घर बनाउने सम्झौता भएको हो । तीन लाख ६६ हजार बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुनेछन् । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई कँडेलले ६२ लाख हस्तान्तण गरेर यथाशीघ्र घर निमार्णको काम अगाडि बढाउन आग्रह गरेका छन् ।  कार्यक्रममा अध्यक्ष शेर्पाले हेलम्बुलाई सहयोग गरेकामा धन्यवाद दिँदै दशैँसम्ममा आफ्नै घरमा प्रभावित जनतालाई साररै छाड्ने प्रतिबद्धता जनाएका छन् । उनले हेल्भेटास नेपालबाट ४० र केयर नेपालबाट २० वटा निमार्णको शुरु भइसकेको जानकारी दिनुभयो । गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लागतअनुसार एकै किसिमको घर निर्माण गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ । कूल १०७ घरपरिवार विस्थापित रहेको तथ्याङ्क रहे पनि करिब ९० घर पूर्णरूपमा क्षति भएको अध्यक्ष शेर्पाले बताए । उनले अहिले अस्थायी आवास निर्माणलाई प्राथमिकता दिइएको र सरकारले दिने भनेको रु पाँच लाख आउनेबित्तिकै स्थायी आवासका निम्ति काम थाल्नेसमेत जानकारी दिनुभयो । मेलम्ची नगरपालिकामा पनि केयर नेपाललगायतले आवास निर्माण गर्ने बताइएको छ ।

बाढीबाट प्रभावित स्थानीय तहलाई १२ लाख सहयोग
गतअसार १ गतेको अविरल वर्षा र भीषण बाढीबाट प्रभावित स्थानीय तहहरू मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकालाई सरकारका पूर्वसचिव सुमनप्रसाद शर्माको टोलीले रकम सहयोग गरेको छ ।
मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकालाई रु तीन÷तीन लाख र हेलम्बु गाउँपालिकालाई रु छ लाख हस्तान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकासविज्ञ डा. शम्भुप्रसाद कट्टेलले जानकारी दिए । 
सो रकम मेलम्ची नपामा सोमबार नगरप्रमुख डम्बर अर्याललाई हस्तान्तरण गरिएको थियो । पाँचपोखरी थाङपाल गापा अध्यक्ष टासी लामा काम विशेषले काठमाडौँमा रहेका उनलाई भेट गरी मङ्गलबार हस्तान्तरण गरिएको कट्टेलले बताए ।
त्यस्तै सोमबार हेलम्बु गाउँपालिकालाई छ लाख रकम सहयोग गरिएको छ । सो रकम अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सोमबार हस्तान्तरण गरेका हुन् । रकम प्रदान गर्दै कट्टेलले हेलम्बुको समस्यामा सहयोगका लागि लागि पर्दा शुभेच्छुकबाट स्वःस्फूर्तरूपमा सङ्कलित भएको रकमले सानै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
सहयोग रकम नेपाल सरकारका पूर्वसचिव शर्माको अग्रसरतामा मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकासविज्ञ डा.कट्टेल र कर्मचारी ऋषिराम पौडेलको प्रत्यक्ष सहभागितामा मेलम्ची खानेपानीसँग जोडिएका व्यक्ति, संस्था, कम्पनी तथा आयोजनाका कर्मचारीबाट सङ्कलित भएको रकम हो ।–रासस

 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार