‘कान्छी हे कान्छी’ का सर्जक एवम् चलचित्रकर्मी कार्कीको निधन

सोमबार, जेठ ३, २०७८

ललितपुर । कवि, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । स्वास्थ्यमा समस्या भएर चार दिनअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना हुनुभएका कार्कीको  ८४ वर्षका उमेरमा मृत्यु भएको हो ।  साहित्यकार मुरारी सिग्देलले भने, ‘केही दिनअघि उहाँलाई गाह्रो भएर कोरोना परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको थियो तर चार दिनअघि उहाँको मुटुमा समस्या भएर अस्पताल लाँदा आज स्वर्गारोहण भयो ।’  विसं १९९५ कात्तिक २२ गते स्याङ्जा आरुखर्कमा जन्मनुभएका कार्कीले  नेपाली, हिन्दी तथा अङ्ग्रेजी र  उर्दू भाषामा थुप्रै कृति प्रकाशन गरेका थिए । उनका ‘आत्मा बेचेको छैन’, ‘हनिमुन’ ‘ढलेको गिलास’ र ‘कल्पना टुट चुकी है’, लगायत उपन्यास, ‘जुन निदाउन थाल्यो’ र ‘मायाप्रीतिको चोखो कथा’ गीतसङ्ग्रह,  ‘हत्केलाले सधैँ सूर्य छेकिँदैन’, मुक्तकसङ्ग्रह, ‘हो देश मेरो पनि गजलसङ्ग्रहलगायत कृति प्रकाशित छन् । कार्कीले ‘विश्वास’, ‘भुमरी’, ‘पहिलो प्रेम’ चलचित्र निर्देशन गरको छन् । कार्कीका चर्चित गीतमा ‘तीजको रहर आयो बरी लै’,  ‘कान्छी हे कान्छी’,  ‘बोलाऊँ भने लेक स्वर पुग्दैन, बोलाइरहन हुँदैन’, ‘बुझ्नै सकिनौ आँखाको भाका मेरो’, ‘बहिनीको दया छ भने रोधी घर दाइ नाच्यो नभन’ आदि  छन् ।
कार्कीको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त 
प्रधानमन्त्री केपी शर्मा ओालीले वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीका निधनमा दुःख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै गीतकार कार्कीप्रति श्रद्धासुमन अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि  प्रकट गरेका हुन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ०५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार