रोल्पाका छ पालिकामा माओवादी, दुई पालिकामा काँग्रेस विजयी

मंगलबार, जेठ ३, २०७९

रोल्पा, ३ जेठ । रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा माओवादी केन्द्र र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्रीगाँउपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ, भने गङ्गादेव र रुन्टिगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादीका सुरेन्द्र थापा घर्तीले ७६०३ मत प्राप्त गरी विजयी भएका हुन् । 
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर थापाले तीन हजार ६५८ मत प्राप्त गरेका थिए । उपप्रमुखमा माओवादीका गीता आचार्यले सात हजार ७४१ मत प्राप्त गरी विजयी भइन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पुष्पा श्रेष्ठले तीहजार ७१९ मत प्राप्त गरिन् । 
दसवटा वडा रहेको रोल्पा नगरपालिकामा माओवादीले नौ वटा वडामा जितेको छ । नगरपालिकाको एउटा वडा भने नेपाली कांग्रेसले जितेको छ । थवाङ गाउँपालिका माओवादी  विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै माओवादीका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् । बुढाले दुईहजार १२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत आएको थियो । उपाध्यक्षमा माओवादीका सर्मिला बुढामगर दुईहजार १२२ मत ल्याई विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत प्राप्त गरेका थिए । थवाङमा नेकपा माओवादी केन्द्रविरुद्ध कांग्रेस–एमाले–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए । 
त्यसैगरी परिवर्तन गाउँपालिकामा माओवादीका शुकबहादुर बुढामगर तीन हजार ३११ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादीका कलादेवी खत्रीनी तीन हजार ३८७ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सपना बुढामगरले दुई हजार ३०८ मत प्राप्त गरिन् । सो गाउँपालिकामा कांग्रेस–एमाले–एकीकृत समाजवादी–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।
रुन्टीगढी गाउँपालिकामा कांग्रेसका जनक पुनले ४३९१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोविन्द पुनले ३७०८ मत प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसका सरिता केसी निर्वाचित भएकी छन् । उनले चार हजार ४३७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कौशिला घर्ती क्षेत्रीले ३७०८ मत प्राप्त गरिन् । माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय घर्ती मगरले तीन हजार ३७१ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा माओवादीका जयपुरी घर्तीमगरले तीन हजार ९६६ मत प्राप्त गरी विजयी भइन् ।  उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत ल्याए ।  जिल्लामा १ नगरपालिकासहित ९ गाउँपालिका रहेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार