महालक्ष्मी नगरपालिका ९ नं. वडाद्धारा ज्येष्ठ नागरिकलाई सम्मान (भिडियाे)

लौरो, दोसल्ला र नगद पाउँदा ज्येष्ठ नागरिक दंग 
आइतबार, पुस १५, २०८०

लामाटार (ललितपुर) । महालक्ष्मी नगरपालिका वडा नं. ९ लामाटारले आफ्नो वडा भित्र स्थायी रूपमा बसोबास गरिरहेका ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरेको छ । वडा कार्यालयले सम्मानका लागि २४० जना ज्येष्ठ नागरिकको विवरण संकलन गरेको भएपनि आज १५० जना ज्येष्ठ नागरिकहरू वडा कार्यालयको प्राङ्गणमा उपस्थित भएर सम्मान ग्रहण गरेका छन् । सम्मान स्थलमा उपस्थित भएका ज्येष्ठ नागरिकहरूलाई बुढेसकालको सहारा एक÷एकवटा ‘लौरो’, फूलको माला लगाएर न्यानो दोसल्ला ओढाई सम्मान गरिएको छ । उनीहरूलाई गाडी भाडा स्वरुप टोकन मनी पनि दिइएको थियो । 

jaya-6-1704035815.jpg
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामृकष्ण चित्रकार, बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, वडाध्यक्ष जयकृष्ण बोगटीलगायतले ज्येष्ठ नागरिकहरुलाई न्यानो दोसल्ला ओढाई, बुढेसकालको सहारा ‘लौरो’ दिएर फूलको माला लगाई यातायात खर्च समेत दिएर सम्मान गरेका थिए । सम्मान कार्यक्रममा वडासदस्य शशीधर पोखरेल, रामकेशर थापा, महिला वडासदस्य सरिता पोखरेल, दलित महिला वडासदस्य बेली सुर्खेती, कार्यपालिका सदस्य कुमार बयालकोटी तथा वडासचिव नारायणकुमार श्रेष्ठसहित वडा नं. ९ का कर्मचारी, महिला स्वास्थ्य स्वयंम सेविकाहरूले सहजीकरण गरेका थिए । 
आर्थिक वर्ष २०८०÷०८१ मा महालक्ष्मी नगरपालिका वडा नं. ९ का लागि विनियोजित वडा बजेटबाट ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको हो । 

jaya-5-1704035729.jpg
ज्येष्ठ नागरिकहरुलाई वडा कार्यालयसम्म ल्याउनका लागि वडा कार्यालयले दुईवटा बसको बन्दोवस्थ गरी उनीहरूलाई घरबाटै सम्मानस्थल वडा कार्यालय प्राङ्गणमा ल्याएको थियो । सम्मान सकिएपछि घरसम्मै सोही गाडीबाट पु¥याइएको थियो । 
‘जेष्ठ नागरिक बोझ होइनन्, उहाँहरु ज्युँदो इतिहास हो, उहाँहरुलाई मान सम्मान र आदरका साथ घरपरिवार र समाजमा सम्मान गर्नु सबैको दायीत्व हो भन्ने सन्देश फैलाउन’ वडा कार्यालयले पहिलोपटक वडाभरीका ७५ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडाध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिए । 
दोस्रो स्थानीय तहको निर्वाचनमा होमिँदा आफूले वडाका ज्येष्ठ नागरिकलाई वडा कार्यालयले दिने सेवा सुविधा घर दैलोमै उपलव्ध गराउने प्रण गरे अनुरुप आजको सम्मान कार्यक्रम गरिएको उनले बताए । 
निर्वाचन जितेको ठीक २० महिनापछि उनी नेतृत्वको निर्वाचित जनप्रतिनिधिको टिमले आइतबार बृहत् सम्मान कार्यक्रम राखी २४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । 

jaya-10-1704035682.jpg
‘कार्यक्रम स्थलमा उपस्थित हुनु् भएका १५० जनालाई आज सम्मान गरियो, बिरामी र शारीरिक अशक्तताका कारण आउन नसक्नुभएका बाआमालाई हामी घरघरमै गएर सम्मान गर्नेछौ’ वडाध्यक्ष बोगटीले शब्दपाटीसँग भने । 
सम्मान कार्यक्रमका सभापति वडाअध्यक्ष जयकृष्ण बोगटीले आफूले निर्वाचनमा होमिँदा गरेको बाचा अनुसार यो कार्यक्रम भएको जानकारी दिँदै यो कार्यक्रम आफ्नो कार्यकाल रहँदासम्म निरन्तर चलिरहने बताए । 
ज्येष्ठ नागरिकको स्वास्थ्यको जिम्मा वडा कार्यालयको भएको स्मरण गराउँदै उनले ज्येष्ठ नागरिकहरूलाई आफूले भोग्नु परेका यावत समस्या निर्धक्क भएर सूचित गर्न आह्वान गर्दै ज्येष्ठ नागरिकलाई वडा कार्यालयसम्म धाउनु नपर्ने वातावरण आफूले मिलाउने बताए ।  
कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले नेपाल सरकारले बजेट विनियोजन गर्दा १५ प्रतिशत सामाजिक सुरक्षाका लागि छुट्याउनु पर्ने नीति अनुरुप नै नगरपालिकाले बजेट तर्जुमा गरेको बताइन् । 
उनले नगरपालिकाले दिवा सेवा केन्द्र खोल्नेतर्फ पहल गरिहरेको पनि जानकारी दिइन् । 

jaya-7-1704035655.jpg
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले नगरपालिकाले ज्येष्ठ नागरिकहरूको दिवा बसाई सहज बनाउन (डे केयर) शैलीको दीवा सेवा केन्द्र खोल्नेतर्फ अग्रसर भइरहेको जनाउँदै यसका लागि उपयुक्त स्थलको खोजी भइरहेको जानकारी दिए । 
कार्यक्रमका विशिष्ठ अतिथि बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठले ज्येष्ठ नागरिक धरोहर भएको जनाउँदै उहाँहरूको सम्मानले घर समाजमा सदभाव कायम हुने बताए । 
कार्यक्रमका प्रमु्ख अतिथि बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामृकष्ण चित्रकारले मुलुकका लागि विशिष्ठ योगदान दिनु भएका ज्येष्ठ नागरिक हाम्रो तथा हामी भन्दा पछिको पुस्ताका लागि मार्ग निर्देशक भएको बताए । 

lauro-1704035655.jpg
उनले ज्येष्ठ नागरिकले देखाएको बाटो तथा उहाँहरुको अनुभव हाम्रा लागि मूल्यवान भएको बताउँदै जसले ज्येष्ठ नागरिकको सम्मान गर्न सक्छ उसको नै उन्नति प्रगति हुने बताए । 
वडासदस्य शशीधर पोखरेलले आज आइतबार कार्यक्रम स्थलमा १५० जना ज्येष्ठ नागरिकको सम्मान गरिएको जानकारी दिँदै सम्मान गर्न बाँकी ज्येष्ठ नागरिकलाई घर दैलोमै गएर वडा कार्यालयका तर्फबाट सम्मान गरिने जानकारी दिए । वडा कार्यालयको तथ्याङ्कमा सम्मानका लागि २४० जना ज्येष्ठ नागरिकको विवरण प्राप्त भएको छ । 
वडाध्यक्ष बोगटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य चम्पक पोखरेल, बागमती प्रदेशका पुर्व सांसद माधव पौडेल, कानुनी सल्लाहकार सुशील पोखरेल, लामाटार गाविसका पूर्वअध्यक्ष तथा ९ नं. वडाका सल्लाहकार गंगाप्रसाद न्यौपानेलगायतकाले आइतबार आयोजना गरिएको ‘वृहत् सम्मान कार्यक्रमले जेष्ठ नागरिकहरुलाई जीवित अवस्थामै सम्मान गर्नुपर्छ’ भन्ने सन्देश दिएको बताए । 

jaya-5-1704035729.jpg

jaya@1-1704036368.jpg

jaya-@-2-1704036367.jpg

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  २१:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार