आज ३५ हजार २२१ जना प्रतिनिधि छान्न मतदान

३५५ जना पदाधिकारी निर्विरोध निर्वाचित
शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौँ, ३० वैशाख । संघीयता कार्यान्वयनपछि हुन गइरहेको स्थानीय तहको दोस्रा निर्वाचन अहिले बिहानदेखि सुरु हुँदैछ । बिहान ७ बजे सुरु हुने मतदान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने छ ।
निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदान स्थलमा लामवद्ध भएका सबै मतदातालाई मतदान गर्न दिने छ ।
निर्वाचन आयोगले आज हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को सम्पूर्ण तयारी पूरा गरिसकेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले आवश्यक तयारी गरेको आयोगले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
 निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आआफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । पचपन्न हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको र सोबमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  ०५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार