हिमाली क्षेत्रमा महँगी बढ्यो

बिहीबार, वैशाख २९, २०७९

काठमाडौँ, २९ वैशाख । गत चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकल सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणमा मूल्यवृद्धि उकालो लागेको देखिएको हो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । समीक्षा अवधिको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ ।
विसं २०७७ चैत महिनाको तुलनामा २०७८ को सोही महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत छ । त्यस्तै गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत छ ।
काठमाडौँ उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ । विसं २०७७ चैतमा यी क्षेत्रहरूमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
विसं २०७८ चैत महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १७.०७ प्रतिशत, १४.१३ प्रतिशत र ७.२२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत रहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ०६:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार