कार्यकालको अन्तिम वर्षमा प्रदेशसभाले तोक्यो जनकपुरलाई स्थायी राजधानी 

सोमबार, माघ ३, २०७८

जनकपुरधाम । प्रदेशसभाले आफ्नो कार्यकालको अन्तिम वर्षमा प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम गरेको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरे । दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन । स्थायी राजधानीको टुंगो लगाएसंगै प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयका अनुसार आजै प्रदेशको नाम सम्बन्धी प्रस्ताव अगाडि बढाउने तयारी छ ।
प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो ।
जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो । प्रस्ताव अनुसार अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ । वीरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्मको सीमाना र वीरगञ्ज महानगरपालिका भरीलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पनि आएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार