भारती प्रधानमन्त्री मोदीद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

शुक्रबार, पुस ३०, २०७८

नयाँ दिल्ली, ३० पुस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा उहाँले सबै प्रदेशमा कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा छलफल गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।
मणिपुरका मुख्यमन्त्री जोरामथांगाले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको जानकारी अनुसार प्रधानमन्त्री र मुख्यमन्त्रीहरूका बीचमा भिडियो मार्फत छलफल भएको हो । 
छलफलका क्रममा प्रधानमन्त्री मोदीले महामारी नियन्त्रणका लागि उपयुक्त कामहरू सबैले आ–आफ्नो ठाउँबाट गर्नुपर्नेमा जोड दिएका थिए । 
कोरोनाभाइरस र त्यसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन आइरसको महामारी तीव्र रूपमा फैलिन थालेपछि प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीचको छलफल भएको हो ।
प्रधानमन्त्री मोदीले जिल्ला तहमा स्वास्थ्य संरचनाहरूको विकास, निर्माण तथा विस्तार पनि बढाउन आह्वान गरेका थिए । स्वास्थ्य संरचनाहरू पर्याप्त नहुँदा बिरामीहरूले सेवा नपाउने र महामारी थप फैलिई थप क्षति हुने भएकाले स्वास्थ्य सेवा प्रवाह गर्ने संरचनाको निर्माण पर्याप्त रूपमा हुनुपर्ने प्रधानमन्त्री मोदीले जोड दिए । 
भारतमा पछिल्लो २४ घण्टामा थप दुई लाख ४७ हजार ४१७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको छ ।  
त्यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएको जनाइएको थियो ।  
महामारीको प्रभाव सबैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ भने दोस्रो धेरै सङ्क्रमित दिल्ली प्रदेशमा रहेका छन् । 
भारतमा सक्रिय सङ्क्रमित र नयाँ सङ्क्रमित दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले  बिहीबार जानकारी दिएको छ । हाल यहाँ पाँच हजार ४८८ ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले बिहीबार जानकारी दिएको छ ।  
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एघार लाख १७ हजार ५३१ रहेका छन् । गएको २४ घण्टामा भारतमा ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख १५ हजार ३६१ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.५९प्रतिशत रहेको जनाइएको छ । 
सोही अवधिमा थप ३८०को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८५ हजार ३५ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।
कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ७३ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५४ करोड ६१ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।–रासस/एएनआई
 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०७:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार