महोत्तरीका पालिकाहरूले सुरू गरे खोपसहितको सेवा प्रवाह

बिहीबार, पुस २९, २०७८

महोत्तरी, २९ पुस : महोत्तरीका स्थानीय तहले कोरोना खोपलाई तीव्रता दिन खोप सहितको सेवा प्रवाह गर्न थालेका छन् । नगर कार्यापालिकाको कार्यालयमा आउने सेवाग्राहीलाई झण्डै १० वटा पालिकाले खोपसहितको सेवा बुधबारदेखि नै सुचारु गरेका हुन् ।

जिल्लाको बर्दिबास नगरपालिकाले सुरु गरिसकेको र गौशाला, औरही, रामगोपालपुर, सम्सी, मनरासिस्वा, मट्टिहानी, जलेश्वर, बल्वा, महोत्तरी लगायतका पालिकाहरूमा कोरोना माहामारीको जोखिमलाई मध्यनजर गर्दै खोपसहितको सेवा प्रारम्भ हुन थालेको  जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

बर्दिबास नगरपालिकामा खोप नलगाएका र पूर्ण खोप लगाउन बाँकी रहेका सेवाग्राहीहरुलाई बुधबारदेखि गेटमा नै खोप लगाउन सुरू गरिएको नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए । अहिले महोत्तरीमा कोभिसिल्ड, भेरोसेल र जोनसन एण्ड जाेनसन खोप पर्याप्त रहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवको भनाइ छ ।

जिल्लाका झण्डै ९० प्रतिशत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप लगाइसकिएको छ । 

पुस मसान्तसम्म जिल्लामा ६६ देखि ७० प्रतिशत खोप लगाइसक्ने जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्य छ । तर अहिलेसम्म ३५ प्रतिशतले पूर्ण खोपको मात्रा र ६५ प्रतिशतले दोश्रो खोप लगाउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांक छ ।

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार