भालुले आक्रमण गर्दा एक वृद्ध गम्भीर घाइते

बिहीबार, मंसिर ९, २०७८

पाँचथर, ९ मंसिर : भालुकाे आक्रमणबाट गाईवस्तु चराउन गएका पाँचथर फालेलुङका एक वृद्ध गम्भीर घाइते भएका छन् ।

फालेलुङ गाउँपालिका-३ मेमेङका ७० वर्षीय रामकुमार राईलाई शुक्रबार बिहान अन्दाजी ७ बजे भ्याक्टे भन्ने जंगलतर्फ जाने क्रममा घरबाट करिब तीन किलोमिटर टाढा पुगेपछि भालुले आक्रमण गरेको थियो । राईको शरीरका विभिन्न भाग चोट लागेको छ ।

गम्भीर घाइते राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । घटनाबारे स्थानीयवासीले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी नायव निरीक्षक राजन खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

भालुले आक्रमण गरेको स्थान इलाका प्रहरी कार्यालय मेमेङबाट करीब २० किलोमिटर उत्तरपूर्वमा छ । फिदिम नगरपालिका, फालेलुङ र याङवरक गाउँपालिकाका उच्च पहाडी क्षेत्रमा जंगली जनावर भालु रहेको स्थानीयवासीले बताउने गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार