युरोपभर फेरि बढ्यो कोभिड संक्रमण

आइतबार, मंसिर ५, २०७८

वर्लिन, मंसिर ।  युरोपेली देशहरूमा फेरि कोभिड संक्रमणमा तीब्र बृद्धि भएको छ । बेलायत, इटाली, जर्मनी, नेदरल्यान्ड्स, अस्ट्रियालगायतका युरोपेली देशहरुमा कोभिड संक्रमण फेरि बढेको हो । कोभिड बढेसँगै ती देशहरुमा पुनः लकडाउनदेखि नियन्त्रणका अन्य प्रतिबन्धात्मक कदमहरु चालिएका छन् ।  पछिल्लो साता जर्मनीमा कोभिड संक्रमण तीब्र बढेको छ । जर्मनीमा बिहीवार ६५ हजार नयाँ संक्रमित भेटिएका थिए । यो संक्रमण दर  महामारी सुरु भएयताकै सबैभन्दा ठूलो हो । पछिल्लो संक्रमणलाई त्यहाँका स्वास्थ्यमन्त्री वाई स्पानले ‘राष्ट्रिय आपतकाल’ भनेका छन् । कोभिड संक्रमण बढेपछि अस्ट्रियाले अन्तिम अस्त्रस्वरुप देशव्यापी लकडाउन  घोषणा गरेको छ । यो लकडाउन तीन सातासम्म रहने सरकारले जनाएको छ । अस्ट्रियाका स्वास्थ्यमन्त्रीले लकडाउनलाई अन्तिम अस्त्र भनेका छन् । त्यस्तै, सरकारले सन् २०२२ देखि कोभिड खोपलाई अनिवार्य गर्ने कानुनी व्यवस्था ल्याएको छ । अस्ट्रियाको ठूलो जनसंख्याले अझै खोप नलगाएकोले सरकारले कानुनी व्यवस्था ल्याएको हो । अस्ट्रियामा अहिले औषतमा दैनिक १ हजार संक्रमित भेटिएका छन् । त्यस्तै, बेलायत र नेदरल्याड्समा पनि संक्रमण नियन्त्रण गर्ने नयाँ कदम चालिएका छन् । खोप नलगाउनेलाई भिड हुने क्षेत्रमा प्रतिबन्ध लगाएपछि शनिबार नेदरल्यान्ड्समा खोपविरोधी प्रदर्शन भएका थिए । प्रदर्शनमा गोली चलाउँदा तीन जना घाइते भएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार