साहित्यकार परिचयपत्र वितरण हुँदै

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौँ, २६ कात्तिक । नेपाल प्रज्ञा–प्रतिष्ठानले बहुप्रतिक्षित लेखक÷साहित्यकार परिचयपत्र वितरण गर्ने भएको छ । आउँदो आइतबार हुने प्रतिष्ठानको ३६ औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले वरिष्ठ साहित्यकारलाई उक्त परिचयपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ । 
प्रतिष्ठानका सदस्य–सचिव प्रा जगतप्रसाद उपाध्याका अनुसार प्रधानमन्त्रीबाट पूर्वसदस्य सचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र पूर्वसदस्य सचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक÷साहित्यकार परिचयपत्र वितरणको आरम्भ गरिने कार्यक्रम छ । त्यसपछि प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने तयारी रहेको जनाइएको छ ।
त्यस अवसरमा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटलाई औपचारिकता दिइने भएको छ । वेबसाइटमा अनलाइनबाटै बैठक कक्ष बुकिङ तथा पुस्तक–पत्रिका बिक्री वितरणको समेत व्यवस्था गरिएको छ ।

नेपाल–भारत साहित्य उत्सव सौराहामा हुने
चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने भएको छ । कविडाँडा साहित्य समाजको १९औँ स्थापना दिवसको अवसरमा यही कात्तिक २७ र २८ गते उक्त उत्सव आयोजना गर्न लागिएको हो ।
उत्सवमा भारत र नेपालका गरी करिब १०० साहित्यकार सहभागी हुने बताइएको छ । भारतको मणिपुर, आसाम, सिक्किम, दार्जिलिङ, डुवर्स, मिरिक, सिलिगुढी र दिल्लीबाट झण्डै ३० साहित्यकार आउने समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए । यहाँका सहित १५० हाराहारीमा साहित्यकार सहभागी हुने उहाँले बताउनुभयो । उत्सवको सबै तयारी पूरा भएको छ । 
कार्यक्रममा नेपाल र भारतका अध्येताबाट विभिन्न विषयमा छ कार्यपत्र प्रस्तुत हुनेछ । भारतीय सहभागी साहित्यकार नेपाली मूलका रहने छन् । कार्यपत्र प्रस्तोता नेपाल र भारतका तीन तीन जना रहने छन् । अध्यक्ष क्षेत्रीका अनुसार भारतका गोमा अधिकारी, डा नवीन पौडेल, डा टिबी क्षेत्री तथा  नेपालका डा केशव चालिसे, डा अशोक थापा र लिला लुइँटेलले कार्यपत्र प्रस्तुत गर्ने छन् । कार्यपत्रमा नेपाली साहित्यलाई विश्व बजारमा कसरी चिनाउने, विदेशमा रहेका नेपालीले यहाँको साहित्य प्रवद्र्धनमा गरेको योगदान, नेपाली साहित्यको अवस्थालगायत विषयमा कार्यपत्र प्रस्तुत गरिने छ । तीनै विषयमा द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा गरिँदै छ ।
सबै सहभागीबाट रचना वाचनको कार्यक्रम पनि छ । सो  अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपाध्याय, कथाकार नियात्राकार इल्या भट्टराई तथा प्रसिद्ध कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिने छ । लोकप्रिय गीतकार तथा कवि श्रवण मुकारुङलाई ‘कविडाँडा सुवर्ण–तुलसी काव्य पुरस्कार–२०७८’ बाट सम्मानित गरिने कार्यक्रमसमेत रहेको क्षेत्रीले बताए ।
त्यसैगरी आख्यानकार श्याम शाह, कथाकार गायत्री अधिकारी तथा शान्ति शर्मा, युवा सर्जक निर्दोष जीवन तथा समालोचक तथा निबन्धकार डीआर शर्मालाई विभिन्न विधामा पु¥याएको योगदानका लागि कविडाँडा साहित्य सम्मान तथा देव–खिना पुरस्कारबाट पुरस्कृत गरिने कार्यक्रम छ । कार्यक्रमको उद्घाटन समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि रहनेछन् भने समापन समारोहमा कालेबुङका कवि राजेन्द्र भण्डारी प्रमुख अतिथि रहने कविडाँडा साहित्य समाजका अध्यक्ष क्षेत्रीले बताए । कार्यक्रमले दुई देशबीचको साहित्य प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ ।  कवि एवं पर्यटन व्यवसायी सुमन घिमिरेले सौराहामा नेपाल र भारतका साहित्यकारको जमघटले साहित्यिक गतिविधिसँगै पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने बताउनुभयो । होटल जङ्गल सफारी लजका सञ्चालकसमेत रहनुभएका घिमिरेको संयोजनमा सौराहामा समय–समयमा साहित्यिक कार्यक्रम हुँदै आएको छ । उत्सव होटल जङ्गल सफारी लजमा हुने तय भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार