समुद्रमा अत्यधिक माछा मार्ने कार्यले शार्कको सङ्ख्यामा नाटकीयरुपमा कमी 

शुक्रबार, माघ १६, २०७७

टोकियो । समुद्रमा अत्यधिक माछा मार्ने गरिएपछि शार्कका कतिपय प्रजातिको सङ्ख्या पछिल्लो ५० वर्षमा ७० प्रतिशतभन्दा बढीले समाप्त भइसकेको एक अध्ययनले देखाएको छ । माछा मार्नेक्रम वर्षैपिच्छे बढेपछि सामुद्रिक जीवनचक्रमै ठूलै खाडल सिर्जना भएको पनि अध्ययनको निचोड छ । 
अनुसन्धाताले हथौडाजस्तो टाउको हुने शार्कदेखि चराजस्तो देखिने विशाल माछासम्मका अनेकौं प्रजातिको डरलाग्दो रुपमा ह्रास आइरहेको बताएका छन् । 
सर्वाधिक प्रभावित जीवजन्तुमा सामुद्रिक विशाल शार्क (ओसियानिक ह्वाइटटिप) रहेका छन् जसले मानिसलाई आक्रमण गरिरहन्छ । मानवीय क्रियाकलापका कारण यस प्रजातिको शार्क लोपोन्मुख अवस्थामा पुगिसकेको छ । यी शार्कलाई मानिसले पखेंटाका लागि शिकार गर्दछन्, र विश्वका कतिपय मुलुकमा ठूलै मूल्यमा खुलेआम बिक्री गर्दछन् । यी शार्कको विश्वव्यापी सङ्ख्या विगत ६० वर्षमा करिब ९८ प्रतिशतले घटेको साइमन फ्रेजर विश्वविद्यालय (एसएफयु)का प्राध्यापक एवं अध्ययन टोलीका वरिष्ट लेखक निक डल्भीले बताए । उनले भने, ‘यी शार्कको विनाश अन्य अधिकांश विशाल स्तनपायीको विनाशभन्दा बढी भयावह देखिएको छ । ब्यू ह्वेलको विनाशभन्दा अहिलेको अवस्था नाजूक छ ।’ अध्ययनका प्रमुख लेखक नाथन पचौडाले भने, ‘यी जीवजन्तु पृथ्वीका सबैभन्दा ठूला र दूरदराजमा बासस्थान रहेका छन् जसलाई प्रायः मानव प्रभावबाट जोगाउनु पर्ने ठानिन्छ ।’ ‘हामीलाई थाहा छ भिन्नभिन्न अध्ययन र प्रतिवेदनबाट आएका ती सूचना धेरै स्थानमा अवस्था निकै खराब थियो । त्यसैले विश्वव्यापी परिस्थितिको बारेमा कल्पना गर्न निकै गाह्रो थियो’ एसएफयुका जैविक विज्ञान विभागका पचौडाले बताए । नेचर नामको जर्नलमा बुधबार प्रकाशित अध्ययनले अत्यधिक माछा मार्ने र कमजोर संरक्षणलाई औंल्याएको छ । संरक्षणका प्रयासले पुनःउही अवस्थामा ल्याउन सकिने पनि अध्ययनको निचोड छ । 
यो अनुसन्धानले खासगरी सामुद्रिक शार्क र ठूला माछालाई केन्द्रित गरेको छ । यी जीव मुख्यरुपमा खुला जलक्षेत्रमा बस्छन् । प्राध्यापक पचौडाले भने, ‘तथ्य विवरणले सामुद्रिक जीवनमा ठूलै र अकल्पनीय खाडल सिर्जना गर्दैछ ।’अध्ययनमा समेटिएका १८ प्रजातिको विश्वव्यापी सङ्ख्या सन् १९७० यता ७० प्रतिशतभन्दा बढी नै खस्किएको प्रतिवेदनमा उल्लेख छ । डल्भीको भनाइमा अन्य प्रजातिका सामुद्रिक जीवजन्तुको यो सङ्ख्या सामुद्रिक शार्क र ठूला माछाको जस्तै वा त्योभन्दा खराब अवस्था रहेको छ । तर त्यसबारे विस्तृत अध्ययन हुन पाएको छैन । पचौडाले भने, ‘यो नतिजाले विज्ञलाई निकै चिन्तित बनाएको छ ।’ 
अध्ययनका अर्का लेखिका एवं म्यारिन मेगाफौना फाउन्डेसनका सहसंस्थापिका आन्द्रे मार्शलले भने, ‘ठूला सामुद्रिक माछाको सङ्ख्या मोजाम्बिकको जलक्षेत्रमा पनि नाटकीयरुपमा कमी आएको छ । हामीले अनुमान गरेभन्दा यो निकै छिटो गतिमा भइरहेको छ र यसका बारेमा जतिसक्दो चाँडो संरक्षणका कार्य गरिनु पर्दछ ।’
तीन प्रजातिका शार्क खासगरी हथौडा आकारको टाउको हुने शार्क बढी नै सङ्कटापन्न अवस्थामा छन् । यिनीहरुको सङ्ख्या ८० प्रतिशतभन्दा बढीका दरले घटेको छ । यी शार्कको सङ्ख्या घट्नुमा मुख्यतःयिनीहरुको प्रजननको दर कम हुनु र हुर्किनेक्रम पनि सुस्त हुनु हो । 
पछिल्लो आधा शताब्दीमा माछा मार्न प्रयोग गरिने घातक जालहरुको सङ्ख्या पनि दुई गुणा बढेको पाइएको छ । यी जालले समग्र सामुद्रिक पर्यावरण र जीवजन्तुको बासस्थानलाई नराम्रो असर पारिरहेको छ । अन्तरराष्ट्रिय मत्स्यपालनको व्यवस्थापन हेर्ने क्षेत्रीय निकायले शार्कजस्ता दुर्लभ जीवजन्तुको संरक्षणलाई खासै प्राथमिकता दिइरहेका छैनन्, पचौडा भन्छन् । उनले सङ्कटापन्न र गम्भीररुपमा संकटमा परिरहेका प्रजाति मार्न प्रतिबन्ध लगाउन माग पनि गरेका छन् । 
पछिल्लो समय अमेरिकाले अघि सारेका नियम कानुनका कारण अमेरिकी जलक्षेत्रमा सेता शार्क पुनःदेखिन थालेका छन् । प्रा पचौडा भन्छन्, ‘प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन सके सङ्कटापन्न शार्कलाई लोप हुनबाट रोक्न सकिन्छ । त्यो अनुभव भइसकेको छ ।’ सर्वसाधारण आम नागरिकले पनि राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्न आआफ्ना सरकारमाथि दबाब दिनुपर्ने डल्भीको भनाइ छ । उनले भने, ‘जहाँ जहाँ सम्भव हुन्छ, शार्कको संरक्षणका लागि सरकारसँग आग्रह गर्नुहोस् ।’-एएफपी
 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  ०६:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार