यसरी कालापत्थर बन्दैछन् हिमाल

सोलुखुम्बुबाट पुष्प श्रेष्ठ
मंगलबार, फागुन ८, २०८०

सोलु । सोलुखुम्बु जिल्ला भन्ने वित्तिकै सबैको मनमा आउने शव्द हो, हिउँले ढाकी रहने जिल्ला अनि कति चिसो होला । तर हिमाली जिल्ला भएपनि केहि बर्ष यता यो हिउँ अनि चिसो यहाँका बासिन्दाले विर्सन थालेका छन् । 
जलवायु परिर्वतनको असर हिमाली जिल्लालाई पूर्ण रुपमा परिसकेको छ । हिउँले छोपी रहने हिमालहरु कालापत्थरमा परिणत भएर देखिन थालेको छ । हिमालको काखमा रहेका बस्तीहरुमा लामखुट्टेले आफ्नो धुन हाल्न थालि सकेको छ । बिकासका नाममा बनेका सकडबाट उडेका धुलो, त्यही धुलोमाथि गुड्ने यातायातका साधनले छाड्ने धुवाँको मुस्लोले आकाशमा तुवाँलो बढाई दिएको छ । 
सदरमुकाम नजिकै देखिने दुधकुण्ड हिमाल समेत विस्तारै रुप फेर्दै छ । विश्वको सर्वाेच्च शिखर सगरमाथाले रुप फेरेको त धेरै भैसक्यो । उहिलेका मानिसहरु सदरमुकामबाट नजिकै देखिने दुधकुण्डको काखमा रहेको हिमाल हेरेर खेति गर्ने समयको अनुमान लगाउँथे । हिमालमा हिउँ पर्यो । यसपाली आलु मकै, गौहुँ, जौ लगाएको खेति सप्रने भयो भनेर खुशी हुन्थे । तर अहिलेको परिवर्तनशील समयले हिमाल हेरेर खेती उत्पादनको लखकाट्ने मानिस कमै भेटिन्छन् । 
कार्तिक लागे पछि डाउन ज्याकेट जस्ता बाक्ला कपडा लाउनु पर्ने सोलुखुम्बुमा अब बाक्लो ज्याकेट सम्झने मात्र हो ।  सामान्य हावा छेक्ने ज्याकेटले दिन कट्न थालेको छ । 
मंसिरको अन्तिमबाट मागको पहिलो सातासम्म लगाउने आलु हिउँ पानीको अभावमा फागुन लागे पछि रोप्न बाध्य भएका छन् । आकाश खुल्ला हुँदा पर्ने तुसारो र शीतको आशमा स्थानिय कृषकले खेती लगाउन थालेका छन् । 

जलविद्युत गृहहरु पनि कृषि उत्पादनमा परिरहेको असरको कारक बनेका छन्। एउटै खोलाबाट उत्पादन भएका बिभिन्न कम्पनीका जलविद्युतबाट नियमानुसार खोलामा बगाईनु पर्ने १० प्रतिशत पानी नदिदा खेतबारी सुख्खा बनेका छन् । खोलामा देखिने जलचर प्राणीहरु देखिन छाडेको छ । उहिले खोला नजिक जाँदा डराउनेहरु आज त्यही खोलाबाट बालुवा गिट्टीको ब्यापारमा रमाई रहेका छन्  । स्थानिय  प्रशासन खोलामा पानी नै नछाड्ने जलविद्युत कम्पनी होस् या ढुँगा गिट्टी बालुवाको दोहन सक्रिय माफियाहरुमाझ चुपचाप कानमा तेल हालेर बसेका देखिन्छन् । 
घर आँगनका जंगलहरु काठ ब्यापारीको निसानामा परिदिँदा हरियो जंगल उराठलाग्दो बनेका छन् । उबेला उत्तिसका काठहरु काम लाग्दैन भन्नेहरुले आज जंगल नै सखाप पारेर तराईतिर ओसारेका छन् ।
खच्चड लगायत हेलिकोप्टरले बोकेर लगेका ग्यासका सिलिण्डरहरु पहाड बन्न थालेको छ । थाप्लोमा नाम्लो लगाएर विदेशी पर्यटकको भारी बोकी जीवन यापन गर्ने युवाहरु अब भेटिन छाडेको छ । हिमालमा रम्न आउने पर्यटकहरु कालापत्थर देखेर निरास हुँदै फर्कँदै छन् ।  
उबेला बनेका हिमतालहरु सुक्दो र पानी घट्दो क्रममा रहेको छ । कुनै बेला हिमताल फुट्ने डरले आत्तिएका स्थानियहरु आज त्यही नदि खोला सुकेको देखेर दिक्क मान्दै भविष्यमा बन्न सक्ने मरुभ्ूमिको कल्पना गर्ने थालेका छन् ।
जमिन जोत्न प्रयोग गरिने गोरुको ठाउँमा पेट्रोल र डिजेलबाट चल्ने हलोले खेतबारी सँगै वातावरणलाई असर गरिरहेको पत्तो छैन । एकातिर उत्पादनमा कमी त छँदै छ । उत्पादित बस्तुहरुले भने जस्तो बजार पाउन छाडि सकेको छ । 
विभिन्न रासायनिक पदार्थ मिसाईएका खाद्य पदार्थहरुले हिमाल पहाडका बस्तीलाई नछोएको भन्ने छैन । गाउँघरका विषादी रहित खाद्य पदार्थ सस्तो मूल्यमा बाहिरिन थालेको यथार्थ छर्लँग हुँदाहँुदै स्थानिय निकायले कुनै रोक्ने पहल गरेको देखिन्न । 
स्थानिय निकाय गाउँगाउँको सिंहदरबार भने पनि उनीहरुलाई न त जलवायु परिर्वतनले असर गरेको छ न विभिन्न रासायनिक पदार्थ मिसाईएका खाद्य बस्तुले । उनीहरु त केवल जित्नका लागि नारा बनाउन मात्र खप्पिस छन् । जितेपछि गाउँलेलाई थर्काएर शासन गर्न अग्रसर छन् । 
अग्ला पहाडमा दृष्य देखाउन भनेर लाखौं खर्चेर बनाईका भ्यु टावरहरु रातको सिरेटोसँग टिनका छानाहरु बजाउँदै बसेका छन् । तर यो टिनको छानोले के खोजी रहेको छ नीति निर्मातालाई सोच्ने फुर्सद छैन ।
हरिया बनहरु नाँगा बनिसके, सेता हिमालहरु काला हुँदै गए तर पनि नेतागणहरु कुनै असहज महसुश गरेका छैनन् । अझै भन्ने गर्छन् यी सबै जलबायु परिर्वतनका असर हुन् भनेर । यदि असरकोबारेमा थाहा भए त न्युनिकरणका लागि उनीहरुको दिमागमा किन बत्ति नबलेको भनेर सर्वसाधारण मानिसहरु प्रश्न गर्न थालेका छन् ।  
 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार