दाङका पालिकाको बेरुजु १ अर्ब ५ करोड

शनिबार, कात्तिक १३, २०७८

दाङ :  दाङका स्थानीय निकायमा बेरुजुको चाङ लागेको छ । जिल्लाका केही स्थानीय तहको बेरुजु रकम सुधारोन्मुख देखिए पनि अधिकांश पालिकामा बेरुजुको चाङ लागेको छ । 

महालेखा परीक्षणको कार्यालयले दाङका दश स्थानीय तहमा एक अर्ब ५ करोड २२ लाख ३४ हजार रुपैयाँको बेरुजु देखाएको हो । उपभोक्ताको नाममा मनोमानी खर्च देखिएको छ । पालिकाहरूमा डोजर बेरुजु, जनप्रतिनिधिका स्वकीय सचिव र सल्लाहकारका नाममा बेरुजु, सचिवालयको नामको बेरुजु तथा नीति विधि मिचेर गरिएको गतिविधिको बेरुजु बढी रहेको छ । 

गत आर्थिक वर्षभन्दा यो आर्थिक वर्षमा दोब्बर बेरुजु देखिएको हो । वर्षेनी बेरुजुको चाङ बढे पनि जनप्रतिनिधि र पालिकाहरू भने यस विषयमा गम्भीर देखिएका छैनन् । 

कुन पालिकामा कति बेरुजु

घोराही उपमहानगरपालिकाको ३० करोड ९७ लाख बेरुजु रहेको छ । बेरुजु रहेको रकममध्ये पेस्की बेरुजु ६ लाख रुपैयाँ छ । 

उपमहानगरपालिकाको यस वर्षको बेरुजु ११ करोड १२ लाख रुपैयाँ छ । यस वर्षको बेरुजु प्रतिशतमा २.८१ छ । घोराही उपमहानगरपालिकामा ३ अर्ब ९५ करोड २५ लाख रकमको लेखा परीक्षण गरिएको थियो । 

तुलसीपुर उपमहानगरपालिकामा ३३ करोड ६८ लाख बेरुजु रहेको छ । बेरुजुमध्ये पेस्की बेरुजु १५ करोड रुपैयाँ छ । यस वर्षको बेरुजु १३ करोड ७० लाख रुपैयाँ थप भएको छ । 

यस वर्षको बेरुजु प्रतिशतमा ३.७३ प्रतिशत रहेको छ । यस उपमहानगरपालिकामा ३ अर्ब ६७ करोड १९ लाख रकमको लेखापरीक्षण गरिएको थियो । 

लमही नगरपालिकामा १६ करोड ५८ लाख ८२ हजार रुपैयाँ बेरुजु देखिएको छ । जुन १४.१२ प्रतिशत हो । 

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बेरुजु कटाउन कागजपत्र पेस गरिए पनि रकम कट्टा नहुँदा यस वर्ष बेरुजुको रकम धेरै देखिएको हुन सक्ने बताए । 

सबैभन्दा थोरै बेरुजु बबई गाउँपालिकाको छ । बबई गाउँपालिकाको ७२ लाख ३९ हजार बेरुजु देखिएको छ । जुन ०‍.८९ प्रतिशत मात्रै हो । बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बेरुजु रकम घटाउन योजनावद्धरुपमा काम अघि बढेको प्रतिक्रिया दिएका छन् ।।

गढवा गाउँपालिकामा चार करोड २६ लाख २९ हजार बेरुजु रकम छ । जुन ४ प्रतिशत हो । दंगीशरण गाउँपालिकाको एक करोड ७९ लाख १५ हजार छ । जुन ३.०६ प्रतिशत हो । 

बंगलाचुली गाउँपालिकामा छ करोड ५३ लाख ८३ हजार छ । जुन ५.६१ प्रतिशत हो । राजपुर गाउँपालिकाको चार करोड ८१ लाख ३७ हजार रुपैयाँ छ । जुन ६.०४ प्रतिशत हो । 

शान्तिनगर गाउँपालिकाको एक करोड ७६ लाख ९४ हजार रुपैयाँ छ । जुन १.९३ प्रतिशत हो । राप्ती गाउँपालिकामा दुई करोड ९१ लाख ३६ हजार रुपैयाँ छ । जुन २.६५ प्रतिशत हो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  २०:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार