सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : सरकारले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालका सम्बन्धमा आएका समाचारमा कुनै सत्य नभएको स्पष्ट पारेको छ ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्रीमा नियुक्त गरेका हमाललाई नेपाली कांग्रेसको तर्फबाट नियुक्त गरेको जानकारी गराए ।
उनले आमसंचार माध्यमलाई मन्त्री हमालका सम्बन्धमा निराधार समाचार सम्प्रेषण गरेर समाजलाई दिग्भ्रमित नगर्नसमेत आग्रह गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको कोटाबाट हमाल उद्योगमन्त्री बनेका भन्दै विभिन्न संचार माध्यमले समाचार सम्प्रेषण गरेका थिए ।
प्रधानन्यायाधीश राणा र मन्त्री हमालको सम्बन्धमा समाचारमा कुनै पनि सत्य नभएको मन्त्री कार्कीले दाबी गरे ।
हमालको नेपालको लोकतान्त्रिक आन्दोलनमा धेरै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सरकारका प्रवक्ता कार्कीले बताए । ‘कांग्रेसमा विभिन्न किसिमका जिम्मेवारी बहन गर्नुभएको छ’, उनले भने, 'तर, उहाँको सम्बन्धमा प्रधानन्यायाधीशसँग जोडेर आएका जुन समाचार छ, त्यसमा कुनै सत्य छैन ।’
सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आवश्यकताअनुसार इमानदारीसाथ काम गरेर जनअपेक्षाअनुसार अगाडि बढ्न सबै मन्त्रीलाई निर्देशन दिएका थिए ।
यस्ता छन् आजका मन्त्रिपरिषद्का बैठकका निर्णय
सरकारको प्रवक्तामा संचार तथा सूचना प्रविधिमन्त्री प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरिएको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका कार्की सरकारकै प्रवक्ता रहेका थिए । आजदेखि उनलाई संचार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
अबदेखि मन्त्रिपरिषद्का निर्णय व्यवस्थित रूपमा संचार मन्त्रालयमा सार्वजनिक गरिने प्रवक्ता कार्कीले बताए ।
बैठकले सार्वजनिक खर्चलाई मीतव्ययी, प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०७८ स्वीकृत गरेको छ । यस्तै, २५ भदौमा गठित मन्त्रिपरिषद्का समितिहरूको पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।