एमाले सबै हिसाबले पतनको दिशामा गइसकेको छ, अब ओली च्यूत भएको हेर्न बाँकी छ : नेपाल

बिहीबार, असोज २१, २०७८

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वपार्टी एमाले सबै हिसाबले पतनको दिशामा गइसकेको बताएका छन् ।

एमाले सुदूरपश्चिमका नेता भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा भित्र्याउँदै नेपालले अन्तिम समयसम्म प्रयत्न गर्दा पनि एमालेलाई ठिक ठाउँमा ल्याउन नसकेको बताए । नेपालले एमालेको प्रथम विधान अधिवेशनलाई तमासाको संज्ञा दिए ।

'विधान अधिवेशनको नाममा भेला गरिएका मानिसहरूको जमात र त्यसले अगाडि सारेका मान्यता देखेर एमालेलाई सुधार्न नसकेर, ठिक ठाउँमा ल्याउन नसकिने देखेर अर्को क्रान्तिकारी पार्टी आवश्यक पर्‍यो भन्ने निष्कर्षसहित भानुभक्त जोशी नेकपा एसमा आउनुभयो,' उनले भने ।  

जोशीको नयाँ यात्रामा सबैभन्दा पहिलो अवरोध केपी ओली गुटले गर्ने भन्दै त्यसलाई पन्छाएर अघि बढ्न निर्देशन दिए । 'उनीहरूले भ्रम विभिन्न ठाउँमा पैदा गरेकाले चिर्नुपर्ने, अवरोध पन्छाउनुपर्ने र कम्युनिस्ट आन्दोलनको पंक्तिमा, एमालेको भ्रममा बसिरहेका पंक्तिमा सत्यतथ्य कुराहरू जानकारी गराउनुपर्छ,' उनले भने ।  

नेपालले केपी ओली कम्युनिस्ट आन्दोलन तथा अन्य सबै हिसाबले च्यूत भइसकेको आरोप लगाए । 'अब सम्पूर्ण रूपले च्यूत भएको औपचारिक रूपमा त्यो दिन हेर्न बाँकी छ,' उनले भने, 'हामी पहिलेदेखि नै यो निष्कर्षमा थियौं कि केपी ओलीलाई सुधार्न सकिँदैन ।'

ओलीमा व्यक्तिवाद, गुटवाद, निरंकुश शैली चरम रुपमा देखिएको भन्दै उनले वैचारिक स्खलन, राष्ट्रियताको मामिलामा आत्मसमर्पण गरेको, समाजवादको ध्येय र उद्देश्यलाई बिर्सिएर मुलुकलाई परिवर्तनको दिशामा अगाडि लागुनपर्नेमा यथास्थितिमा रहन थालेको यी सबै कुराले गर्दा निकै ठूलो अन्तरसंषर्घ लामो समयसम्म चलेको सुनाए ।  

'अन्तरसंघर्षको सामना गर्ने आँट ओलीमा भएन । केन्द्रीय कमिटी नै भंग गरे । आफूसँग असहमत भएका व्यक्तिलाई पार्टीबाट निष्कासन गर्ने तहमा पुगे । सिंगो पार्टी आफ्नो कब्जामा राख्न पुगे । त्यहाँ सामूहिकता छैन । कम्पनीजस्तो हुन पुगेको छ,' उनले भने ।  नेपालले जोशीलाई पार्टीको स्थायी कमिटीमा ल्याउने घोषणा पनि गरे ।

एमालेलाई सिध्याउन खोज्न शक्ति आफैँ समाप्त हुन्छन् : महेश बस्नेत 

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई समाप्त पार्न खोज्ने शक्ति आफैँ समाप्त हुने दावी गरेका छन् । उनले एमाले कमजोर छ भनेर ठाने कांग्रेस र माओवादीका लागि महाभूल हुने बताए ।

राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देहीको प्रथम युवा सम्मेलनलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै नेता बस्नेतले एमाले र केपी ओली मधेश विरोधी हुन् भनेर हल्ला फैलाइएको भए पनि त्यो गलत भएको पुष्टि हुँदै गएको बताए । 

‘हामीले सही ढंगले विषयवस्तु जनतालाई बुझाउन सकेनौं, तर ओली नेतृत्वको सरकारले मधेशमा विकासको लहर ल्याएको छ, मधेशमा विकास निर्माणका धेरै कार्यहरू भएका छन्,’ उनले भने । एमाले नेतृत्वको सरकारले मधेशको विकासका लागि विभिन्न कार्यक्रम ल्याएको उनले दावी गरे ।

एमाले नेतृत्वको सरकारले सुकुम्बासी, भूमिहीन तथा गरिबका लागि उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरी जग्गा दिन खोजेको उनको भनाइ छ । 

‘२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारको पालामा ५८ हजार सुकुम्बासीले जग्गा पाएका थिए, केपी ओली नेतृत्वको सरकार नढलेको भए मुलुकमा २० लाख भूमिहीनले जग्गा पाउँथे,’ नेता बस्नेतले भने ।

रुपन्देहीको विकासका निम्ति विष्णु पौडेलले सशक्त रूपमा नेतृत्व गरेको उनले दावी गरे । लुम्बिनी क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिबाट खासै विकासका काम हुन नसकेको उनले बताए । 

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता बस्नेतले अहिले एमाले मुलुकको सबैभन्दा ठूलो शक्ति भएको दावी गरे । नेता बस्नेतले मन्त्री छनौटको विषयलाई लिएर कांग्रेस र माओवादीभित्र झगडा सुरु भइसकेको बताए । 

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार